न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १२ फेब्रुअरी । हङकङले रेकर्ड तोड्दै शनिबार १ हजार ५१४ पुष्टि भएका केसहरू थपेको छ। कोभिड प्रकोपपछि हङकङमा यो संख्या अहिलेसम्म कै उच्च रेकर्ड हो।
सेन्टर फर हेल्थ प्रोटेक्शनले कोभिड-१९ को १ हजार ५१४ केस दर्ज भएको जानकारी दिएको छ। आज पनि करीब १ हजार ५०० भन्दा बढी प्रारम्भिक केसहरू पुष्टि भएका छन्।
सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले ५ आयातित केस र १ हजार ५०९ स्थानीय केसहरू पुष्टि भएको जानकारी दिइन्। डा चुआङका अनुसार सम्भवतः १ हजार ४१९ केसहरू ओमिक्रोन र १७ केसहरू डेल्टा भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षण अन्तर्गत रहेका छन्।
डा. एडविन चुका अनुसार नर्सिङ होमहरूमा धेरै केसहरू चिन्ताजनक अवस्थामा रहेका छन्। हालसम्म ४२ नर्सिङ होमका ८० जनाभन्दा बढी कर्मचारी र वृद्धवृद्धा संक्रमित भएका छन्। हाल धेरै वृद्धहरूले खोप लिन थालेका छन्। अधिकारीहरूले सकेसम्म चाँडो व्यवस्था गर्ने जनाएका छन्।
अस्पताल प्राधिकरणले युन लङका ४ वर्षीय बालकसहित ३ पुरुष विरामीको कोभिडबाट मृत्यु भएको जनाएको छ। ३ विरामीको अवस्था चिन्ताजनक र १६ बिरामीको अवस्था गम्भीर रहेको छ।
कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २२१ पुगेको छ। १ हजार ९३९ जना विरामीको उपचार भइरहेको छ। १४५ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?