हङकङमा थपिए ५६,८२७ कोभिड संक्रमित, थप १४४ जनाको मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ मार्च । हङकङमा आज ५६,८२७ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा थप १४४ जना बिरामीको मृत्यु भएको छ। संक्रमित र मृत्यु भएको यो संख्या अहिलेसम्म कै उच्च रेकर्ड हो।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा ४२ वर्षदेखि १०२ वर्ष उमेरबीचका ८५ पुरुष र ५९ महिला रहेका छन्। मृत्यु हुनेमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या ११५३ पुगेको छ।

संक्रमितमध्ये २ आयातित र बाँकी स्थानीय रहेका छन्। १७२४ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।

७८ जना विरामीको अवस्था चिन्ताजनक र ११६ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ५६४ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।





Comments

comments

48912