एचकेनेपाल डट कम –
हङकङ, ३ मे । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका हङकङका माध्यमिक विद्यालय र किन्डरगार्टेनका फेस टु फेस कक्षा सुचारु भएको पहिलो दिन दुई जना विद्यार्थीले आत्महत्या गरेका छन्।
१२ र १७ वर्षका दुई जना विद्यार्थीले आज बिहान भवनबाट हाम फालेर आत्महत्या गरेको स्थानीय मिडियाले जनाएको छ।
बिहान करिब ६ बजे चुन येउङ इस्टेट फो टानका एक व्यक्तिले उनका १७ वर्षीय छोरा फ्ल्याटबाट खसेर तल प्लेटफर्ममा बेहोस अवस्थामा फेला परेको खबर प्रहरीलाई गरेका थिए। गम्भीर घाइते पीडितलाई प्यारामेडिक टिमले तुरुन्तै अस्पताल पठाइएको थियो। तर उनको सास गईसकेको थियो।
प्रहरी अधिकारीहरूले घटनास्थलबाट एउटा सुसाइड नोट बरामद गरेको जनाएको छ। सुसाइड नोटमा मृतक आफ्नो शैक्षिक समस्याका कारण दुखी रहेको खुलासा गरिएको छ।
त्यसैगरी, बिहान २ बजेतिर द स्पार्कल अपार्टमेन्ट नम्बर ५०० तुङ चाउ स्ट्रिटको माथिबाट १२ वर्षीय बालक क्लबहाउसको भूईमा खसेको थियो। अस्पताल पुर्याएपछि उनको मृत्यु भएको पुष्टि भएको थियो। प्रहरीले बालकको सुसाइड नोट फेला पारेको छ। उनलाई मृत्युअघि शैक्षिक र पारिवारिक समस्याले सताएको आशंका गरिएको बुझिएको छ।
यदि कोही डिप्रेसनले पीडित हुनुहुन्छ भने २४ घण्टे बहु-भाषिक हटलाइन
The Samaritans Hong Kong: 28960000 मा कल गर्न सक्नुहुनेछ।