सर्पको टोकाइबाट प्रधानाध्यापक युवराज श्रेष्ठको मृत्यु…

महोत्तरी । करेत सर्पको टोकाइले विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ। शनिबार राति उपचारका क्रममा माइस्थान पब्लिक एकेडेमीका प्रधानाध्यापक युवराज श्रेष्ठको मृत्यु भएको हो।

सर्पले टोकेको थाहा पाएपछि श्रेष्ठ आफै‌ मोटरसाइकल चलाएर सर्पदंश उपचार केन्द्र बर्दिबासस्थित गौरीडाँडामा पुगेका थिए । ‘उहाँ सामान्य अवस्थामा आउनुभएको थियो, सर्पले टोक्यो भन्नुभयो । हामीले हेर्दा पछाडि ढाडमा र घाँटीनेर डसेको रहेछ’, उपचारमा संग्लन चिकित्सक इन्द्र केसीले भने।

उपचारको क्रममा श्रेष्ठलाई राति झन्डै १२ बजे स्वासप्रस्वासमा निकै अफ्ठ्यारो परेपछि जनकपुर प्रादेशिक अस्पतालमा पठाउने तयारी गर्दागर्दै निधन भएको सर्पदंश उपचार केन्द्र गौरीडाँडाले जनाएको छ।

‘स्वासप्रस्वासमा निकै गाह्रो भएपछि हामीले स्टेचरमा हालेर एम्बुलेन्समा हाल्ने तयारी गर्दै थियौं । तर, स्टेचरमै स्वासप्रस्वास बन्द भइसकेको थियो’, चिकित्सक केसीले भने, ‘यदि भेन्टिलेटर भएको भए उहाँको ज्यान जोगिन्थ्यो।’

सर्पले टोकेका बिरामीहरूको स्वासप्रस्वासमा समस्या पर्ने हुँदा सर्पदंश उपचार केन्द्र गौरीडाँडामा भेन्टिलेटरको माग हुँदै आएको छ । तर, स्थानीय सरकार र सरोकारवाला निकायले मौनता साँध्दै आएका छन्।

उपचार केन्द्रको तथ्यांकअनुसार पाँच वर्षभित्र ९८० भन्दा बढी सर्पदंशका बिरामी उपचारका लागि भर्ना भएका थिए । यस वर्षमात्र ३० भन्दा बढी मानिस उपचारका लागि भर्ना भएको केन्द्रको तथ्यांक छ । उपचारका लागि आउनेमध्ये पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको सर्पदंश उपचार केन्द्र बर्दिवासका अध्यक्ष कृष्णप्रसाद देवकोटाले बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनि एक हजारभन्दा बढीले सर्पको टोकाइबाट ज्यान गुमाउँदै आएका छन् । सर्पको उच्च जोखिम रहेको तराईका २३ जिल्लामध्ये महोत्तरी अति संवेदनशील मानिन्छ।





Comments

comments

54397