नातिबाबु भट्ट –
कोलोराडो अमेरिका, मगर संघ अमेरिकाको केन्द्रीय समितिको आठौं बार्षिक साधारणसभा टेक्सास राज्यको डलास शहरमा भब्य रुपमा सम्पन्न भएको छ।
सभाको लागि उपस्थिति विभिन्न च्याप्टर कमिटीबाट आएका मौलिक झाँकीसहितको र्याली सभाहलमा प्रवेश गरेको थियो। अमेरिकाको मूलप्रबाहमा मगरहरुको उपस्थिति र सहभागिता उदाउँदो मगर पुस्ता माझ मगर भाषा, संस्कार र संस्कृति हस्तान्तरण आजको आवश्यकता भन्ने मूल नाराका साथ अमेरिकाको विभिन्न १२ राज्यका मगरहरुको ऐतिहासिक भेला सम्पन्न भएको हो।
नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मनबहादुर राना मगरको प्रमुख आतिथ्य र टेक्सास राज्य युलेसका सिटीका काउन्सिल मेम्बर टीका पौडेलको विशेष आतिथ्यमा सभाको समुदघाटन गरिएको थियो।
बिगत एकदशकदेखि मगर समुदाय माझ चर्चाको बिषय बनेको मगर आपतकालीन कोषलाई यस भेलाले मूर्तरुप दिएको छ । पहिलो चरणमा पचास हजार डलरको कोष स्थापना गर्ने र कोषको गोल ६ महिनाभित्र पूरा गरिने मगर आपतकालीन कोष कमिटी सदस्य यम पुन मगरले जानकारी गराए।
यसबाट आइन्दा अमेरिकामा मगरहरुलाई आइपर्ने आपतकालीन समस्यहरुमा राहत मिल्नेछ।
मगर बिद्यार्थीहरुलाई हौसला र प्रोत्साहन संस्थाप्रति बिद्यार्थीको आकर्षण बढाउने हेतुले सुरुवात गरिएको मगर बिद्यार्थी छात्रवृत्ति कोषबाट कृष्ण राना मगर जर्जिया र निर्जल थापा मगर न्युजर्शीलाई एक एक हजार डलर र प्रमाणपत्र सहित सम्मान गरिएको थियो। यसलाइ हरेक बर्ष निरन्तरता दिइने समेत बताइएको छ। मगर बिद्यार्थी छात्रवृत्ति कोषका संयोजक डा कृष्ण थापा मगरले छात्रवृत्ति पाउन सफल विद्यार्थीहरुको नाम सार्बजनिक गर्दै आगामी बर्षका योजनाहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा मगर संघ अमेरिकामा लामो समयसम्म कार्यसमितिमा रहेर काम गरेका मगर संघ अमेरिका केन्द्रीय समितिका बर्तमान सल्लाहकार लक्ष्मीकुमारी राना मगरलाई सम्मान गरिएको थियो। त्यसैगरी स्थापना कालदेखि निरन्तर मगर संघ अमेरिकालाई विभिन्न तवरबाट सहयोग साथ हौसला प्रदान गर्दै आएका डा गंगा पुर्जा पुन मगर र पत्रकार तथा सामाजिक अभियान्ता प्रदीप परियार थापा मगरलाई पनि सम्मान गरिएको थियो।
विभिन्न च्याप्टर कमिटी र अन्य ब्यक्तिहरुबाट बिधान संशोधनको लागि आएका प्रस्तावहरुमा गहिरो छलफल गरेर पारित गरिएको छ। बिधान संशोधन समिति संयोजक लछुमन राना मगरले संशोधनका लागि आएका प्रस्तावहरु टेबुल गरेका थिए भने सदस्यद्वय लक्ष्मीकुमारी राना मगर र भक्तबहादुर आले मगरले एकरएक गरेर प्रस्तुत गरेका थिए।
समुदघाटन समारोह समापन मन्तव्य दिने क्रममा मगर संघ अमेरिकाले अमेरिका राज्यबाट पाउन सक्ने सुबिधा र गरिएको प्रयासबारे मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदीप राना मगरले प्रष्ट पारेका थिए। उनले नेपालमा बन्न लागेको लखन स्मृति पार्क निर्माणका लागि सहयोग अपिल गरेका थिए । मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभा अहिलेसम्मकै भब्य र व्यवस्थित भएको र टेक्सास च्याप्टरको अग्रहनिय र अमुल्य भुमिका प्रति अध्यक्षले खुलेर प्रसंसा गरेका गरे। कार्यक्रमलाई समुदघाटन समारोह, बन्द सत्र र सांस्कृतिक कार्यक्रम गरि तीन चरणमा सम्पन्न गरिएको थियो।
मगर संघ अमेरिकाका अध्यक्ष कुलिदप राना मगरको सभापतित्वमा संम्पन्न कार्यक्रम, महासिचव दिपसागर बुढामगरले संचालन गरेका मगर संघ अमेरिका केन्द्रीय समितिका सदस्य टेकबहादुर थापाले बताएका छन्।