नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो अमेरिका, हिन्दू महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी महिला दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामूहिक रुपमा दर खाएका छन्।
प्रवासमा रहेका महिला दिदीबहिनिहरुलाई एक्लो भएको महसूस नहोस् र बर्षमा एक दिन भए सबै दिदीबहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै माईतीको झल्को मेटाउन तिज कार्यक्रम आयोजना गरिएको हो।
कोलोराडोमा सकृय संस्था सिस्टर ग्रुप दिदी बहिनी समूह कोलोराडोको आयोजनामा दिद बहिनीहरुले घर घरबाट मीठा परिकारहरु बनाएर ल्याई एकै ठाउंमा जम्मा भई परंपरागत शैलीमा गीत गाएर नाच्दै सामूहिक दरखाने कार्यक्रम सम्पन्न गरेका हुन्।
कोलोराडोस्थित बेष्टमिनिष्टर सिटीमा सम्पन्न कार्यक्रममा बोल्डर, लङमन्ट, ब्रुमफिल, डेनवर्ग, अरोरा, वेस्टमिनिष्टर लगायतका शहरहरुबाट महिला दिदीबहिनिहरु नेपाली पहिरन रातो साडी ,चोलो , चुरा, धागो र बिभिन्न परंपरागत गहनामा सजिएर उपस्थित भएका थिए । कार्यक्रममा स्थानीय केही महिला दिदीबहिनीहरु पनि नेपाली चेलो साडीमा सजिएर कार्यक्रममा उपस्थित भएका थिए।
परम्परागत भाका र शैलीमा गीत गाउदै मादलको तालमा छम छम नाचिरहदा आफूलाई नेपाली भूमिमा बसेर तिजको रमाईलो हेरिरहेको महसूस हुन्थ्यो। परम्परागत रुपमा दर खाने परिकारहरु खीर, सेलरोटी, दही, कांक्रोको अचार जस्ता स्वादिष्ट परिकारहरु खादै साथीहरुसंग नाच्दै, गाउदै, तिजको शुभकामना साटासाट गर्दै उनीहरुले तिजको दरखाने कार्यक्रम सम्पन्न गरेका हुन्।
सांझ ४ बजेदेखि राती १० बजेसम्म संचालन भएको कार्यक्रममा बालबालिकादेखि बृद्ध बृद्धा कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधी बुद्धिजीवी, गन्यमान्य, समाजसेवी, ब्यावसायी, सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न नमस्ते प्लमीङ, चाम गुरुङ, कन्चन प्रसाईलगायतका दाताहरुले आर्थिक सहयोग गरेका थिए।
कार्यक्रमलाई थप आकर्षण तुल्याउन राफल चिट्टाको ब्यवस्था पनि गरिएको थियो। केही समय अगाडि प्रकाश सपुतको कार्यक्रममा खोलिने घोषणा गरिएको राफल चिट्टा समय अभावको कारण उक्त कार्यक्रममा नखोली आजको कार्यक्रममा खोली बिजेताहरुलाई बितरण गरिएको थियो।
बिगत केही बर्ष अगाडिदेखि नियमित रुपमा तिजको कार्यक्रम आयोजना गर्दै आएको यस संस्थाका संयोजक धन पौडेलले यस्ता कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बालबालिका र स्थानीयहरुलाई नेपाली भाषा संस्कृतिको पहिचाहन तथा संरक्षणमा टेवा पुर्याउने बताइन्। उनले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने दिदीबहिनीलगायत उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुने सबैलाई धन्यबाद दिईन्।
थप फोटोहरु यहाँ हेर्नुहोस्


