दार्चुला बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो।

गएराति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए । नौगाडमा पहिरोले १२ घर पूर्णरुपमा क्षति पुगेको छ।

यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरु दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख गाहामगरले जानकारी दिए । उनीहरुको खोजी भइरहेको छ । डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलकम पूरै क्षति गरेको छ । पावर हाउँस बगाएको छ । निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ।

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्याँस जोड्ने सडक अवरुद्ध बनेको छ । दार्चुला तिङ्कर सडक अन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ । महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ।

लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन् । महाकाली वडा नम्बर ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ । दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताए । बमका अनुसार पाँचवटा जिप, एक ट्रयाक्टर र एक ट्रली बगाएको छ। रासस





Comments

comments

57334