एचकेनेपाल डट कम – काठमाडौं, ६ जेठ। भूकम्पमा परि ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनको परिवारलाई एकै दिन बुधबार १ लाख ५५ हजार रुपैयाँ संकलन भएको छ।
सामाजिक अभियन्ता सरिता गुरुङसँग रकम ग्रहण गर्दै मञ्चका केन्द्रीय सदस्य प्रज्वल ओली
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भोम्जनको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको अध्यक्षतामा रहेको कोषले भूकम्पमा परि ज्यान गुमाएका खेलाडी, प्रशिक्षकसहित भोम्जनको परिवारलाई १÷१ लाख रुपैयाँ र घर भत्केका खेलाडीका लागि जनही २० हजार रुपैयाँ प्रदान गरेको थियो। कोषका अध्यक्ष समेत रहेका सदस्य सचिव लामाले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका नेपाल खेलकुद पत्रकार मञ्चका सचिव प्रकाश तिमल्सिनालाई भोम्जनको परिवारको आर्थिक सहयोग हस्तान्तरण गरेका थिए।
युएस एयर फोर्सका राजीव शिल्पकारसँग रकम ग्रहण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवंम् मञ्चका सचिव प्रकाश तिमल्सिना। साथमा राजीवका दाजु खेल पत्रकार सञ्जीव।
सहयोग रकम हस्तान्तरणपछि सामाजिक अभियन्ता गुरुङले भूकम्पमा परि जनधन गुमाएकाहरुको सहयोगका लागि फेसबुकमार्फत सञ्चालित अभियानबाट ९ लाख रुपैयाँभन्दा बढी संकलन भएको जानकारी दिइन्। पेशाले फोटो पत्रकार समेत रहेकी पोखराकी गुरुङले भनिन्,‘ साढे तीन लाखको सहयोग हामीले गोरखाको थुमी गाविसका पीडितलाई प्रदान गर्यौं। ५ लाख रुपैयाँको जस्ता खरिद गरेर गोरखाको बारपाकका पीडितलाई प्रदान गर्ने योजनामा छौं। त्यहि रकम मध्येबाट भोम्जनको परिवारलाई पनि सहयोग गरेका हौं।’
भूकम्पबाट प्रभावित परिवार भेट्न जापानबाट स्वदेश फर्केको जनाउँदै युएस एयर फोर्सका पाटन निवासी शिल्पकारले आफू आउने क्रममा ३५ औं एलआरएस डी फाइट ट्राफिक मेनेजमेन्टमा कार्यरत साथीहरुले उठाएर दिएको रकम सहयोग गरेको बताए।
भूकम्पबाट पीडित खेलपत्रकार र पीडितका परिवारलाई सहयोग गर्न मञ्चले महासचिव महेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। मञ्चको भूकम्पपीडित राहत कोषमा बुधबार सम्म २ लाख ६७ हजार ३ सय रुपैया संकलन भएको छ। मञ्चले सहयोग रकम एकमुष्ट रुपमा भोम्जनको परिवारलाई हस्तान्तरण गर्नेछ। वैशाख १२ को विनाशकारी भूकम्पमा परि भोम्जनले ज्यान गुमाएका थिए।
ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य अरुणकुमार श्रेष्ठसँग रकम ग्रहण गर्दै मञ्चका केन्द्रीय सदस्य प्रज्वल ओली।