जापानका युट्युबर सांसद निष्कासित

टोकियो, जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्कासन गरिएको छ। सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका मङ्गलबार संसदबाटै निष्कासन गरिएको हो।

Image Courtesy: @gaasyy_ch/Instagram

गत जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि जापानको माथिल्लो सदनले मङ्गलबार निष्कासन गरेको हो । सदनको हिजोको उक्त निर्णय आज (बुधबार)देखि लागू भएको छ ।

गाँसी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसदबाट निष्कासित हुने पहिलो सांसद हुनुभएको छ । यसअघि सदनले उहाँलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमायाचना गर्न आदेश दिएको थियो तर उहाँले त्यसको बेवास्ता गर्नुभएको थियो । ५१ वर्षीय उहाँको दलबाट दुई जना सांसद निर्वाचित छन् । उहाँ निष्कासित भए पनि अर्को एक सदस्यले उहाँको स्थानमा काम गर्नुहुने छ ।

दुबईमा बसोबास गरिरहनुभएको पूर्व व्यापारी उहाँले जापान फर्किए पक्राउ पर्ने बताउनुभएको छ । मानहानिको आरोपमा उहाँलाई सम्बद्ध अधिकारीले सोधपुछ गर्न पक्राउ गर्नसक्ने उहाँले बताउनुभएको छ । जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उहाँको दल एनएचके पार्टीका रूपमा परिचित थियो ।

रासस/एएफपी





Comments

comments

69470