कसरी पक्राउ परे रायमाझी ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन्।

पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।

‘रायमाझी शनिबार काठमाडौँ आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी भूपेन्द्र खत्रीले भने । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।

रायमाझी २० वैशाखका दिन अर्घाखाँचीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका बखत उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको थियो । उनी सोही दिन अर्घाखाँचीबाट बुटवल हुँदै भैरहवासम्म पुगेको सूचना प्रहरीले पाएको थियो । तर, भैरहवा आएपछि उनी सम्पर्कविहीन हुँदै फरार भएका थिए । प्रहरीले रायमाझी पक्राउ नपरेपछि ७७ वटै जिल्लामा उनलाई नियन्त्रणमा लिन सर्कुलर गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले रायमाझीलाई प्रहरीले ट्र्याक गरिरहेको अवस्थामा उनी शनिबार काठमाडौं प्रवेश गरेको सूचना पाएको र उनलाई पक्राउ गरिएको जानकारी दिएका हुन्। आजको राजधानी दैनिकमा समाचार छ।





Comments

comments

73690