फेसबुकको नक्कली प्रेमी २७ लाख ठगेर बेपत्ता

प्रहरीका अनुसार काठमाडौंकी ठकुरी थरकी एक युवतीलाई गत वर्ष एक अपरिचित फेसबुक रिक्वेस्ट आयो। राणा थर भएका युवकले उनलाई फेसबुक रिक्वेस्ट पठाए, उनले एसेप्ट गरिन्।

त्यसपछि ती युवकसँग उनको नियमित च्याट हुन थाल्यो। युवकले पटकपटक म्यासेज पठाएपछि युवतीले पनि कुरा गर्न थालिन्। युवकले आफू स्विडेनमा बस्ने गरेको बताए। युवतीलाई पनि स्विडेनमा बोलाउन सक्ने बताए। नयाँ पत्रिका दैनिकमा समाचार छ।

सपनाको पछि लागेपछि युवती नजिकिँदै गइन्। त्यसका लागि खर्च आफैँले गर्नुपर्ने प्रस्ताव आयो, युवतीले स्वीकार गरिन्। ती युवकले भनेका व्यक्तिका नाममा भारतमा पैसा पठाउन थालिन्। पटकपटक गरेर उनले २७ लाख पठाइन्, तैपनि उनको भिसा आएन।

शंका गर्न थालेपछि युवक बेपत्ता भए। फेसबुकमा चिनजान भएका युवकले उनलाई माया गरेको नाटक गरेर ठगिरहेका थिए। गलत नाममा फेसबुक अकाउन्ट खोलेर ती युवकले त्यसरी ठगी गरेका हुन्। आफू स्विडेनको भएको भन्दै नेपालमै बसेर ठगी गरेपछि उनी फरार भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट भएको चिनजानले ठगिएको यो नयाँ घटना होइन। फेसबुकबाट चिनजान गरी विदेश लैजाने भन्दै अन्य दुई युवती पनि केही महिनाअघि ठगिएका थिए। आफूसँग फ्रान्सको स्थायी बसोवासको अनुमति भएको भन्दै जोरपाटी बस्ने प्रवेश राईले धरानकी एक युवतीलाई झुक्याएका थिए। बिहे गरेर फ्रान्स लैजाने भन्दै युवतीसँग उनले आठ लाख लिई ठगी गरेका थिए। दुई महिनाअघि मात्र उनलाई प्रहरीले पक्राउ गरेको थियो। फेसबुकमार्फत नै युवतीसँग चिनजान गरी उनले ठगी गरेका थिए।

प्रेमको नाटक गरी राईले युवतीलाई ठगी गरेका हुन्। त्यस्तै, गत फागुनमा कमलपोखरीबाट प्रहरीले नवीन घिमिरेलाई पक्राउ गरेको थियो। उनले फेसबुकमा आफ्नो लोकेसन जापान भएको भन्दै झुक्याउने गरेका थिए। अविवाहित रहेको भन्दै झुक्याएर एक युवतीसँग बिहे गर्ने नाममा ठगी गरेको आरोपमा घिमिरे पक्राउ परेका थिए। फेसबुकबाट चिनजान गरेर झुक्याउँदै ठगी गर्ने घटना बढ्दै गएको अपराध महाशाखाका एसपी प्रकाश अधिकारी बताउँछन्।





Comments

comments

Leave a Reply

7446