वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद

वीरगन्ज, पर्सा भौराटारका लालबहादुर साह वैदेशिक रोजगारीका सिलसिलामा चार वर्षपहिले मलेसिया गए। तीन वर्ष मलेसियामा काम गरेर छुट्टीमा पोहोर साल घर फर्किएका उनले श्रीमती पूजाबाट पहिलेको जस्तो माया पाउन सकेनन्। जसोतसो एकडेढ महिनाको छुट्टी बिताएर उनी फेरि मलेसिया हानिए।

दोस्रोपटक मलेसिया गएको ६ महिना बित्न नपाउँदै गत चैतमा उनी फेरि घर फर्कन बाध्य भए। सँगै जिउने सँगै मर्ने बाचा गरेकी श्रीमती गाउँकै पुरुषसँग लहसिएको खबर आफन्तले गरेपछि ६ महिनामै मलेसियाबाट काम छाडेर घर फर्किन बाध्य भएको लालबहादुर बताउँछन्।

घर फर्किएपछि उनले श्रीमतीलाई सम्झाउनेबुझाउने प्रयास पनि गरे। तर उनकी श्रीमती उनीसँग बस्न मानिनन्। अन्ततः जिल्ला अदालतबाट दुवैले सम्बन्धविच्छेद गराए।

पर्साको भेडियारीका नगेन्द्र ठाकुर र मसिहानीकी रीमादेवीबीच पनि बिहे भएको तीन वर्ष नपुग्दै सम्बन्धविच्छेद भएको छ। बिहे गरेको दुई महिनामा नगेन्द्र रोजगारीका लागि खाडी मुलुक कतार गएका थिए। कतारबाट घर फर्किंदा नगेन्द्रले श्रीमती रीमाको चालचलन ठीक देखेनन्। दुवैबीच मतभेद चर्किएपछि उनीहरूले पनि अदालतबाटै सम्बन्धविच्छेद गराए। अन्नपूर्णपोष्टमा समाचार छ।

पर्साकै बिन्धवासिनका कजिमन साह र रनिकादेवीबीचको वैवाहिक जीवनको यात्रा चार वर्ष पनि चल्न सकेन। जसका लागि कजिमन देश छाडेर मलेसिया गए, उनैले धोका दिइन्। मलेसियाबाट फर्किएपछि कजिमनले श्रीमती रनिकासँग सम्बन्धविच्छेद गर्नुपर्‍यो।

वैदेशिक रोजगारीले श्रीमान् श्रीमतीबीचको सम्बन्धमा प्रतिकूल प्रभाव पारेको उदाहरण मध्यतराईमा थुप्रै छन्। विवाहित पुरुष वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ, जुन अन्ततः सम्बन्धविच्छेदकै बिन्दुमा पुगेर टुंगिने गरेको छ।

वैदेशिक रोजगारी र कम उमेरमा विवाहका कारण मध्यतराईका पर्सा, बारा र रौतहटमा श्रीमान् र श्रीमतीबीच सम्बन्धविच्छेदको घटनामा तीव्र वृद्धि भएको छ।





Comments

comments

Leave a Reply

7755
%d bloggers like this: