गायनमा सिम्रन परियारको चर्चा, मेला महोत्सवमा भ्याइ नभ्याई…

बागलुङ । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार। १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ।

मुटुमै घाउ छ’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ।

“गायनसँगै पढाइलाई निरन्तरता काठमाडौँबाट बागलुङ फर्केकी छु”, परियारले भनिन्, “विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउने उद्देश्य छ।”

कक्षा पाँच पढ्दादेखि नै गीत गाउन सुरु गरेको परियार बताउछिन् । “विभिन्न सर्जकले गीत आउने अवसर दिन थाल्नुभएको छ”, उनले भनिन्। परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताइन् । केही दिनअघिसम्म गाउँघरमै सीमित उनको पहिलो गीत नै चर्चामा छ। गायक प्रमोद खरेलसितको स्वरको ‘उसलाई पाउन २’ को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो।

सामाजिक सञ्जालमार्फत प्रतिभा बाहिर ल्याएर चर्चामा रहेकी गायिका परियारलाई गृह नगर बागलुङ नगरपालिकाले हालै रु ३० हजार नगदसहित सम्मान गरेको छ । उनी पहिलोपटक स्टेज शो कार्यक्रमसमेत गर्न सफल भएकी छिन् । यही भदौ ५ गते दोस्रो हरेलो मेलामा परियारले आफ्नो गीत प्रस्तुत गरेकी थिइन्। उनको स्वरलाई धेरै श्रोताले रुचाएका छन् । परियारका केही गीत सार्वजनिक हुन बाँकी छन्।

“मलाई गीत गाउने पहिलो अवसर गायक सुनिल बिसीले दिनुभएको हो”, उनले भनिन्। गायक प्रमोद खरेलको गीत आफुलाई औधी मनपर्ने परियारको भनाइ छ । “खरेलसँगै गीत गाउने अवसर पाउँदा खुसी लागेको छ”, उनले भनिन् । खरेलले साङ्गीतिक शिक्षा लिन आग्रह गरेको परियारले सुनाइन्। गायनलाई निरन्तरता दिन प्रधानाध्यापक छविरमण रेग्मीले समेत परियारलाई सुझाव दिए।

रासस

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

83068