नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन्।

चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढ‌ंगले उत्तरी सीमा क्षेत्रमा स्थानीयरूपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको बताए।

केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने बचन दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

‘वैधानिक ढंगले सबै नाका खोल्ने सहमति भएको छ। केही नाका अनुदानमा बनाइदिन्छौं भन्ने सहमति भएको छ,’ उनले भने।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्वपूर्ण छलफल भएको उनले बताए।

आन्तरिकरूपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उनले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए। चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ।

आफू देश बाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक, स्वास्थ्यकर्मी लगायतले राख्दै आएको गुनासो सम्बोधन गरेकामा प्रधानमन्त्री दाहालले धन्यवाद दिएका थिए।

रासस





Comments

comments

85774