अमेरिकामा निधन भएका गुरुङको पार्थिव शरीर नेपाल लगिने

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
अक्टोबर ०४ कोलोराडो, अमेरिका। राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको शनिबार भएको असामयिक निधनमामा दुःख व्यक्त गर्दै कोलोराडोमा आइतवार एक शोक सभाको आयोजना गरिएको छ।

तमुधी कोलोराडोको आयोजनामा सम्पन्न शोक सभामा कोलोराडोस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी,उद्योगी व्यवसायी, मान्यजन, पत्रकार, चन्द्रबहादुर गुरुङका श्रीमती, छोरा, छोरी, साथी तथा आफन्तहरुको बाक्लो उपस्थिती रहेको थियो।

चन्द्रबहादुरको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा उपस्थित सबैले उनको तस्विरमा फूलका गुच्छा, खादा, माला पहिराई श्रद्धाञ्जलि अर्पण गरेका थिए। त्यसपछि सुरु गरिएको शोक सभाका अधिकांश वक्ताहरुले नेपालले सच्चा ईमान्दार, राष्ट्रभक्त नेता गुमाउन परेकोमा दुःख व्यक्त गरेका थिए। उनमा भएको राष्ट्रियताको भावना, नेपालमा उनले नेपालमा पुर्याएको योगदानको सबैले खुलेर प्रशंसा गरेका थिए।

शोक सभालाई संवोधन गर्दै चन्द्रबहादुरका छोरा अभिषेखले बाबुप्रति आत्मियता देखाई श्रद्धाञ्जलि अर्पण गर्न उपस्थित भएका सबैलाई धन्यवाद दिएका थिए।

पेनक्रियाजमा समस्या देखिएपछि नेपाल र भारतका डाक्टरको सल्लाह अनुसार उनी उपचार गर्न अमेरिका आएका थिए। कोलोराडोस्थित युनिभर्सिटी अफ कोलोराडो अस्पतालमा उपचारको क्रममा शनिवार ८.२० बजे उनको निधन भएको थियो। परिवारको सल्लाह अनुसार उनको पार्थिव शरीरलाई नेपालमा लगि अन्तिम संस्कार गरिने बताईएको छ।

२०११ सालमा स्याङ्जाको पञ्चमुलमा जन्मेका गुरुङ पंचायतकाल देखिनै राजनीतिमा सक्रिय थिए। उनी युवक संगठनको केन्द्रिय सभापति, पहिलो संविधान सभाका सदस्य र हाल राप्रपा नेपालका महामन्त्री रहेका थिए। उनका श्रीमती एक छोरी र एक छोरा छन्।





Comments

comments

Leave a Reply

8945