रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते

काठमाडौं । रुस–युक्रेनको सीमा क्षेत्रमा भएको भिडन्तमा परेर नौ जना नेपाली घाइते भएका छन्। एक वर्षभन्दा बढी समयदेखि दुई मुलुकबीच चलेको द्वन्द्वमा नेपालबाट गएकामध्ये नौ जना हाल घाइते भएर मस्कोमा उपचाररत छन्।

उपचाररत सबैको अबस्था खतरामुक्त रहेको घाइतेमध्ये एक जनाले नाम सार्वजनिक नगर्ने सर्तमा बताए।

‘हामीसँग रहेका नौ जना साथी एकैसाथ घाइते भयौं,’ मस्कोमा उपचाररत नेपालीले भने, ‘अहिले मस्कोमा उपचार गरिरहेका छौं।’

गत १३ नोम्बेम्बरमा रुस र युक्रेनको सीमाक्षेत्रमा भिडन्त हुँदा नौ जना घाइते भएका हुन् । नेपालमा सेना समायोजनमा बहिर्गमनमा परेका झन्डै ५० पूर्वमाओवादी लडाकु रुस पुगेका छन् । ‘पहिलो श्रेणीमा लामबद्ध भए अगाडि बढ्नेक्रममा युक्रेनको सेनाले आक्रमण गरेपछि जवाफी फाएर खोल्नेक्रममा कम्मर र तिघ्राको देब्रे भागमा गोली लागेर घाइते भएँ,’ उनले भने, ‘एक दिन युद्ध क्षेत्रमा सामान्य उपचारपछि हेलिकोप्टरको सहायतामा दुई दिनमा मस्को ल्याएपछि हाल अस्पतालमा उपचाररत छु ।’ आफ्नो टोलीमा रहेकामध्ये चार जना आफूसँग र एक सातापछि थप पाँच जना घाइते भएका साथीसँग उपचाररत रहेको उनले बताए।

नेपालबाट दुबईको बाटो हुँदै रुसी सैनिकमा भर्ना हुन मस्को पुगेको घाइतेहरू बताउँछन् । घाइते भएका ती पूर्वमाओवादी लडाकुका अनुसार आफ्ना ५० भन्दाबढी साथी रुस आएको बताए । ‘केही ट्रेनिङ गरिरहेका छन् भने केही युद्धमा सामेल भइसकेका छन्,’ उनले भने।

उनका अनुसार माओवादी सेनामा रहँदा आफूभन्दा तल्लो मातहतमा रहेका १० जना उनीसँगैको सम्पर्कमा आएका छन् । म्याग्दी घर भएका उनकै मातहत रहेका उनकै साथी हाल तीनमहिने तालिममा छन् । तालिम अवधिभर नेपाली ६० हजार रुपैयाँ हुने र तालिम पूरा भएपछि नेपाली ३ लाख रुपैयाँ तलब हुने गरेको उनले सुनाए। यो समाचार राजधानी दैनिकमा छ।





Comments

comments

91906