भूकम्पपीडितको गुनासो : राहतले छाक कट्यो, रात कटेन

जाजरकोट। भूकम्पपीडितले भत्किएका घर पुनर्निर्माणको माग गरेका छन्। भूकम्पका कारण घर भत्किएपछि घरवासविहीन नागरिकले पुनर्निर्माणको काम छिटोछरितो गर्न माग गरेका हुन्। पीडितहरूले त्रिपालमुनिको चिसोबाट बचाउन पुनर्निर्माणलाई तत्काल अघि बढाउन आग्रह गरेका छन्।

रूकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ मा नेपाल ग्रामीण पुनर्निर्माण संस्था, (आरआरएन) ले भूकम्प प्रभावितलाई राहत सामग्री वितरणका क्रममा पीडितले सो बताएका हुन् । त्रिपालले जाडो नछेक्ने तथा खुला आकाशमुनि खाना पकाउने गरेका पीडितले अस्थायी टहरा निर्माणको प्याकेज ल्याएर आउन आग्रह गरेका छन् ।

त्रिपालमुनिको चिसो छल्ने न्यानो कपडा नपाएर जीवन बिताउन बाध्य पीडितले चार हप्ता बित्दा पनि अस्थायी टहरा पाउन नसकेको गुनासो गरेका छन् । भूकम्प प्रभावित क्षेत्रका नागरिकका लागि सरकारले अस्थायी टहरा निर्माण गर्ने प्रतिबद्धता गरेको सरकारले सो पूरा गर्न नसकेपछि उनीहरू समस्यामा परेका छन् ।

नलगाड नगरपालिका–१ चिउरीकी कल्पना परियारले भनिन्– ‘घरबासबाहेक पैत्रिक सम्पत्ति छैन । ज्यालामजदुरी गरी बिहानबेलुकाको खाना जोहो गरेका थियौं, कात्तिक १७ गते मध्यरातको भुइँचालोले घर भत्कियो, राहतबाट पाएको एकसरो लत्ता कपडाले त्रिपालमुनिको बसाइमा बालबालिकालाई सुरक्षित राख्न गाह्रो छ ।’ उनले सरकारले अस्थायी टहरा निर्माणका लागि ५० हजार रुपियाँ दिने घोषणा गरे पनि पाउन नसकेको बताइन् ।

चिसो बढदै गएपछि लेकाली भेगमा नागरिकमा समस्या बढ्दै गएको छ । ‘खाना, नाना ज्यालामजदुरी गरी गुजारा गरिहाल्थ्यौं, घर नहुँदा समस्या भएको छ, सरकारले घर मात्र बनाई देओस् खानाको जोहो आफैं गर्ने थियौं’ –उनले भनिन् ।

भूकम्पपीडितहरूले राहतबाट पाएको एकसरो सामग्रीले अन्नबाली लगाएको जमिनमा त्रिपाल टाँगेर बसेको चार हप्ता बिते पनि अस्थायी टहरा पाउन नसकेको बताएका छन् । नलगाड नगरपालिका–१ की हीरा परियारले सरकार, दातृ निकायबाट प्राप्त गरेको राहत सामग्रीबाट बिहानबेलुकाको छाक र रात काटेको बताइन्।

गरिब दलित ज्यालामजदुरीबाट जीविकोपार्जन गरेका नागरिकलाई घरबासविहीन भएपछि खानाभन्दा रात काट्ने चिन्ताले सताउन थालेको छ । चिसो बढ्दै गएपछि लेकाली भेगमा बालबालिका, सुत्केरी गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिक समस्यामा परेका छन् । क्षतिको विवरण स्थानीय सरकारले संकलन गरिलगेका छन् । सरकारले अस्थायी टहराको लागि दिने भनेको रुपियाँ आएको छैन । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।





Comments

comments

92158