केही कथित जी-१० प्रतिनिधिहरुबाटै गोर्खा आन्दोलन असफल बनाउने निकृष्ट हर्कत

सन्तोष थलङ –
निर्णायक गोर्खा आन्दोलनमा केही गोर्खा संस्था र केही कथित गोर्खा प्रतिनिधिहरुबाट व्यक्तिगत स्वार्थ र अवाञ्छित ईगोको कारण आत्माघाती गतिविधिको प्रयास भईरहेको यथार्थ अब सतह मै सार्वजनिक भईसकेको छ।

गत २२ नोभेम्बर २०२३ मा सम्पन्न भएको जी टु जी वार्ताका दिन यसको पुष्टि भईसकेको छ।

सन्तोष थलङ

तीन दशकभन्दा अघिबाट सशक्त आरम्भ भएको समानताको आन्दोलन गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले सरकार स्तरीय बार्ताको टेबलमा पुर्याई सकेपछि सबै गोर्खा संस्थाहरुको स्वामित्व रहने गरी गठन भएको ” ग्रुप अफ टेन ” (जी-१०) का प्रतिनिधिहरुले न आफ्नो संस्थाहरुलाई “जी-१०” ले तय गरेको आन्दोलनको रणनीति अनुसार परिचालन गर्न सक्यो ? न त प्रतिनिधिहरु आफै आन्दोलनको आचारसंहिता भित्र रहन सके?

यिनै गैर जिम्मेवार केही कथित “जी-१०” का प्रतिनिधिहरुले वार्ता भांडेर आन्दोलन असफल बनाउन बिभिन्न घृणित हर्कत गरिरहेका छन्। आम सचेत गोर्खा समुदायमा एउटा जटिल प्रश्न उठेको छ, यिनीहरू कसका लागि, केका लागि, र कोबाट परिचालित छन्? सबैलाई थाहा छ, यो आन्दोलन/वार्ता असफल भयो भने लगभग गोरखा आन्दोलनको च्याप्टर सदाका लागि बन्द हुन्छ।

केही यिनै आत्माघातीहरुले, ” बेलायत सरकारले पेन्सन बढाई दिन्छु भनेको छ, तर सत्याग्रहले क्षतिपूर्ति दाबी गरेकाले यो वार्ता लम्बिरहेको छ। नत्र पेन्सन बढिसक्थ्यो ” भन्ने भाष्य निर्माण गरेर सोझासिधा गोर्खाहरुलाई गोर्खा सत्याग्रह र मेजर जुध गुरुङबिरुद्ध आक्रामक बनाउने दुस्साहस गरिरहेका छन्।

तर यथार्थ केहो भने अहिलेसम्मको वार्तामा बेलायत सरकारले वेलफेयर आदिका एजेण्डा ल्याएर टालटुल गर्न खोजिरहेको थियो। पेन्सनको एजेण्डा राख्नै चाहेको थिएन। तर सत्याग्रहले वार्ताको आरम्भदेखि नै समान पेन्सनलाई आफ्नो बटमलाइन बनाउदै आएको छ। जी-१० मा आवद्ध एउटा गोर्खा संस्थाले त समान पेन्सन नभई, आई.पि.सी-७ भए पुग्ने आपत्ति जनक माग राखेका थिए।

स्मरण रहोस, गत २२ नोभेम्बरमा सम्पन्न वार्तामा गोर्खा प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधि बेलायतका लागि नेपाली राजदूतले पेन्सनको समस्या समाधान नगरी वार्ता अघि नबढ्ने अडान लिएपछि मात्र आगामी वार्तामा पेन्सनको बिषयमा छलफल गर्न बेलायत सरकार वाध्य भएकोछ।

अन्त्यमा, समानताको गोर्खा आन्दोलन आरम्भ भएको ३ दशक नाघिसकेको छ। यति लामो आन्दोलनबाट सम्पूर्ण गोर्खा र गोरखा सन्ततिहरुले आफ्नो मुद्दा के हो ? कुन कुन संस्थाहरुले के के गरिरहेका छन्? यो आन्दोलनमा के सहि र के गलत भनेर छुट्याउन सक्ने हैसियत राख्नु पर्दछ। गोर्खा आन्दोलनलाई मागिखाने व्यवसाय बनाउने साथै आफ्नो स्वार्थ सिद्ध गर्न आम गोर्खाहरुको स्वाभिमान र अधिकारमाथि धावा बोल्ने कुतत्वहरु जो कोहीलाई सबैले चिन्न र बहिष्कार गर्नु सम्पूर्ण सचेत गोर्खाहरुको अहिलेको प्रमुख दायित्व हो।

अर्को महत्वपूर्ण कुरो ” कागले कान लग्यो भन्दा काग खेद्नु भन्दा पहिला कान छाम्ने ” आधारभूत सिद्धान्त भूलेर आफ्नै खुट्टामा बन्चरो हान्ने मूर्खता कुनै गोरखाबाट नहोस्।

जय गोरखा !!!





Comments

comments

92171