वोङ ताई सिनस्थित तुङ ताउ इस्टेटमा रहेको फ्ल्याटमा आगलागी, एक पुरुषको जलेर मृत्यु, छुरा प्रहारबाट आमा छोरी घाइते…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० डिसेम्बर। आज बुधवार बिहान ७:१९ बजे वोङ ताई सिनस्थित तुङ ताउ इस्टेटस्थित क्वाई तुङ हाउसको सातौं तल्लामा रहेको युनिटमा आगलागी भएको छ।

स्थानीय मिडियाका अनुसार घटनास्थलमा विष्फोट भएको रिपोर्ट गरिएको छ, जसले फ्ल्याटको झ्यालको सिसा चकनाचुर पारेको छ। खबर पाएलगत्तै घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरूले आगो निभाएर उद्धार कार्यमा खटिएका थिए।

आगलागी भएको युनिटमा एक पुरुषको जलेको शव र तीन आमा छोरी रगताम्य हुने गरी घाइते अवस्थामा फेला परेका थिए। स्रोतका अनुसार आगलागी भएको युनिटमा घरप्रमुख, उनकी श्रीमती र दुई छोरीसहित चार जनाको परिवार रहेको थियो।

घटनाका क्रममा दम्पतीबीच चर्को झगडा भएको थियो। घटनाका क्रममा कसैले चक्कु प्रहार गरेको आशंका गरिएको थियो। घरकी महिला प्रमुख र जेठी छोरीको क्रमशः हात र टाउकोमा चोट लागेको छ भने कान्छी छोरी पनि घाइते भएकी छन्। तीन आमा र छोरी अस्थायी आश्रयको लागि छिमेकीको घरमा भागेका थिए। तुरुन्तै युनिटमा आगो लाग्यो र विस्फोटको आवाज सुनिएको थियो।

घटनाका क्रममा सोही तल्लामा बस्ने अन्य तीन महिलालाई धुवाँले श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि अस्पताल पठाइएको छ।

फायर फाइटरहरूले युनिटमा आगलागीको कारण अनुसन्धान गरिरहेका छन्, र ग्यास कम्पनीले पनि पाइप जाँच गर्न कर्मचारीहरू घटनास्थलमा पठाएको छ, तर कुनै चुहावट फेला परेको छैन।

भागेका केही छिमेकीले भवनबाट कोही खसेको आशंका गरे पनि सुरुमा खोजी गर्दा पनि कोही नभेटिएको बताइएको छ।





Comments

comments

95566