न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ६ जनवरी। चोरीको क्रेडिट कार्ड प्रयोग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
याउ त्सिम मोङमा गिफ्ट भाउचरहरू खरिद गर्नका लागि चोरीको क्रेडिट कार्ड प्रयोग गरी करिब १,००० हङकङ डलर नाफा कमाउन खोजेको आरोपमा एक ५२ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
स्थानीय मिडियाका अनुसार ठगी गरेर सम्पत्ति आर्जन गरेको आशंकामा मोङ कोकमा ती व्यक्तिलाई शुक्रबार पक्राउ गरिएको हो।
प्रहरीले ती व्यक्तिबाट अन्य व्यक्तिको १६ वटा क्रेडिट कार्डसमेत बरामद गरेको छ। प्रहरी अधिकारीहरूले अन्य पीडितहरूको चोरी भएका क्रेडिट कार्डहरूको अनुसन्धान गरिरहेका छन्। पक्राउ परेका ती व्यक्ति अहिले प्रहरी हिरासतमा छन्।
चोरी र ठगीबाट सम्पत्ति आर्जन गर्नु गम्भीर फौजदारी अपराध भएको र दोषी ठहर भएमा अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने प्रहरीले जनाएको छ।