गोविन्द गिरी प्रेरणा –

नेपाली संघ संस्थामा कुनै पदमा पुगेपछि त्यो पद ज्यान गए पनि नछाड्ने प्रवृत्ति नौलो, आश्चर्यजनक र अपत्यारिलो कुरा होइन।

गोविन्द गिरी प्रेरणा

वरु कुनै व्यक्तिले आफ्नो एक कार्यकाल सकिएपछि सहजै वहिर्गमन रोज्यो भने आश्चर्यको विषय वन्दछ । यस सन्दर्भमा मलाई यौटा घटनाको सम्झना हुन्छ, तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषदका सदस्य वालकृष्ण पोखरेलले राजा वीरेन्द्रलाई धनकुटामा दर्शन भेटका अवसरमा सरकार मैले यो कार्यकाल पूरा गरेपछि मलाई पुग्यो भनेका थिए । फलत अर्को कार्यकाल उनलाई नियुक्त गरिएन । अरु प्राय जसो दोहोरिए । तर वालकृष्ण पोखरेलले थप कार्यकाल एकेडेमीमा नवसे पनि उनलाई सदा सम्झने काम एकै कार्यकालमा गरेर देखाइदिए र वहिर्गमनको वाटो रोजे।

सन् १९९० मा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई व्यक्तिवादी भएको आरोप लाग्ने गर्थ्यो । त्यसपछि उहाँलाई परिवारवादको आक्षेप लाग्न थाल्यो । वास्तवमा आफूले स्थापना गरेको संस्था आफूले परिकल्पना गरे झैं चल्दै जाओस् भन्ने सुमनसायले नै उनले आफू सधैं सर्वेसर्वा भइरहूँ भन्ने सोचेर त्यसो गर्नु भएको हुनुपर्छ भन्ने मेरो ठम्याई छ । तर आम मानिसले त्यसो सोचिदिएनन् । अर्को कुरा पव्लिक मनी संस्थामा आइसकेपछि पव्लिकको कुरा सुन्नु पर्छ, मान्नु पर्छ र व्यक्ति होइन पद्धतिले संस्था चल्नुपर्छ भन्नेतिर उहाँले ध्यान पुर्याउन नसक्दा ठूलै आलोचनाको भारी उहाँले खप्नु पर्यो । तर अनेसासको आजको अवस्था हुनलाई उनको र उनको परिवारको यति ठूलो देन छ कि त्यसको तुलना कसैसँग हुनै सक्दैन । होमनाथ सुवेदीको योगदान पूजा गर्नु पर्ने वरावरको छ केही कमी कमजोरीका वावजूद।

मैले जाने वुझेसम्म अहिले होमनाथ सुवेदीको कुनै प्रत्यक्ष संलग्नता छैन अनेसासमा । तर होमनाथ सुवेदीको संस्थावाट वहिर्गमन पश्चात् संस्थाको संरचना र गतिविधिमा आमूल परिवर्तन गर्छु भन्नेहरुले विगतका वर्षहरुमा गरेको कृयाकलाप हेर्दा वोलाई र गराइमा कति भिन्नता हुन्छ, भन्न जस्तो गर्न सजिलो नहुने रहेछ भन्ने त प्रमाणित नै भयो । तर त्यो भन्दा सोचनीय के भैदियो भने राम्रा परम्पराहरु पनि ध्वस्त भए । नयाँ काम थालनी गर्न नसके पनि पुराना कामको स्तरीय निरन्तरता दिन नसक्नुलाई क्षम्य मान्न सकिंदैन।

हरेक २ वर्षमा प्रदान गरिने अनेसासका विभिन्न पुरस्कारहरु दोश्रो वर्षको डिसेम्वरसम्म आइपुग्नु पर्ने र मूल्याङ्कनको लागि प्रोसेसमा लैजाने परम्परा तोडिएर मन लागेसम्मको म्याद वढाउने संस्कार शुरु भयो । यसले गर्दा हरेक २ वर्षमा प्रदान गर्नको लागि अन्तिम म्याद डेड लाइन भङ्ग भयो र वेथितिको शुरुवात भयो।

अनेसासका पुरस्कारहरुको घोषणा भानु जयन्ती समारोहमा गर्ने र देवकोटा जयन्तीमा वितरण गर्ने प्रचलन थियो । तर घोषणा गर्ने र वितरण गर्ने तिथि मिति पनि भद्रगोल हुन थाल्यो । तर त्यो भन्दा पनि आश्चर्यजनक जतिवटा पनि पुरस्कार स्थापना र अन्त्य हुने नयाँ नौलो र उदेकलाग्दो परम्परा थालियो जसलाई लाजोमर्दो भन्न पनि लाजोमर्दो हुन्छ।

अनेसासको आजीवन सदस्यता १०० डलर तिरेपछि अमेरिकाको कार्यक्रममा आउन निम्तो पाइने प्रचलनले यो संस्थाको शाख गिरेको छ । १०० डलर वा सो वरावरको रकम नै सदस्यताको मापदण्ड कसरी मान्य हुनसक्छ ? अमेरिकाको भिसाकै लागि प्रायोजित प्रथम पुस्तक नयाँ पुरस्कारले पुरस्कृत गराई आजीवन सदस्यताको खोल ओढाएर निम्त्याइनु र पुरस्कार चयन समितिका सदस्यले पुरस्कारको नतिजा प्रकाशित भएपछि मात्र पत्तो पाउनु कति घोर अनैतिकता हो सोचनीय छ।

आफ्नो लगानीमा जोसुकैको जस्तो सुकै पुस्तक प्रकाशन पनि अनेसासको नामवाट हुने गरेकाले साहित्यिक गरिमा र महिमाको खिल्ली आफैंले उडाएको लज्जास्पद अवस्था पक्कै पनि संस्थाको हितमा हुन्छ भन्न सकिन्न।

यि मैले उल्लेख गरेका तथ्यहरु दृष्टान्तका लागि मात्र उल्लेख गरेको हुँ, संस्थाको पूरै लेखाजोखा र मूल्याङ्कन गरेको होईन । तर यी सव कुरा अनेसासका वोर्ड अफ ट्रष्टिका अध्यक्षलाई थाहा भएर पनि केही गर्न नसक्नु भएको हो कि थाहा नै नभएको हो यो उहाँलाई नै थाहा हुने कुरा हो । थाहा भएर पनि केही गर्न नसकेको हो भने उहाँलाई असक्षम भन्नुपर्ने हुन्छ । थाहा नै नभएको हो भने पनि उहाँ असक्षम नै हो । भनेपछि डा.श्याम कार्कीलाई दोश्रो कार्यकालको लागि जिताउनुको कुनै तुक देखन्न।

उम्मेदवारी दिने सम्वन्धमा उहाँले निम्न ५ कुरा उल्लेख गर्नु भएको छ:
१, “एक कार्यकालमा आफूले संतोषजनक काम गरेको र अझ पनि केही काम गर्न बाँकी रहेकोले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने विचार गरेको”
२, “आफ्ना साथीभाई र संस्थासंग सम्बन्धित आबद्धसंग सरसल्लाह गरेर पुन: दोश्रो पटकको लागि आफू सभापतिमा लड्ने सोच बनाएको”
३, “आफ्नो नेतृत्वमा अनेसासको रजत जयन्ती मनाइएको ,बोर्ड अफ ट्रस्टी र अनेसास केन्द्रिय समिति बीच आफूले पुलको काम गर्दै सुमधुर सम्बन्ध स्थापना गर्न सफल भएको तथा आगामी दिनमा अनेसासको भवन निर्माण गर्ने योजना समेत अगाडी बढाई सकेको”
४, “अनेसासले प्रदान अर्ने पुरस्कारहरुलाई अझ उपल्लो स्तरमा लैजाने ,गरिमामय बनाउने तथा अन्तर्राष्ट्रिय स्तरको सम्मेलनको आयोजना गर्ने योजना समेत रहेको ”
५, “साथीभाईहरुको आग्रह अनुरोधलाई समेत मध्यनजर गर्दै दोश्रो कार्यकालको लागि सभापति (चेयर ) पदको उम्मेदवार बन्ने भएकोले सबैले समर्थन तथा सहयोग गर्न समेत अनुरोध तथा आव्हान”

यी ५ वूँदाको आधारमा उहाँले उम्मेदवारी दिने हो र जिताउनु पर्ने हो भने उहाँलाई आजीवन अध्यक्ष वनाए पनि समय सिमा पुग्ने देखिंदैन । यी बूँदाहरुमा कतै पनि उहाँ वाहेक अरु कसैले गर्न नसक्ने भिजन, मिसन र कार्य योजना देखिंदैन।

व्यक्तिगत रुपमा म डा.श्याम कार्कीलाई एक असल , भद्र र शालीन व्यक्तिको रुपमा आदर गर्दछु । तर दोश्रो कार्यकालका लागि भने उहाँ उपयुक्त उम्मेदवार हो भन्ने मलाई लाग्दैन।

तर विचारणीय कुरा के छ भने यो निर्वाचनमा १००० डलर (एक हजार अमेरिकी डलर) तिरेका वोर्ड अफ ट्रष्टिका साहित्यकार, साहित्य प्रेमी वा गैर साहित्यकारले चुन्ने हो। यदि डा.श्याम कार्कीले गत कार्यकालमा गरेका नगरेका काम भन्दा असल काम, योजना , दृष्टिकोण भएका अरु व्यक्ति वोर्ड अफ ट्रष्टिमा छैनन् र यथास्थिति नै उत्तम हो सुधार गर्नु पर्ने ठाउँ छैनन् र सुधार आवश्यक छैन भने डा.श्याम कार्की नै उत्तम उम्मेवार मानेर जिताए हुन्छ।

३० अक्टोवर २०१८



.

















Comments

comments