यि हुन् घर भएर पनि घरभाडा बुझ्ने सांसदहरु…

काठमाडौं, राष्ट्रिय सभा विधायन समिति सभापति परशुराम मेघी गुरुङको भक्तपुर सूर्यविनायक नगरपालिकाको सुवर्णेश्वर आधारभूत विद्यालय सँगै घर छ । तर उनी संसद् सचिवालयबाट नियमित घरभाडा बुझ्ने सांसदको सूचीमा पर्छन्।

सचिवालयबाट उनले घरभाडाबापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ बुझछन् । उनले पुसको घरभाडासमेत बुझिसके। कान्तिपुर दैनिकले समाचार छापेको छ।

‘सुवर्णेश्वर मन्दिर सँगै उहाँको घर छ, म पनि पुगेको छु,’ सूर्यविनायक नगरपालिकाका एक जनप्रतिनिधिले भने, ‘घर हुँदाहुँदै भाडा लिनु त ठीक भएन ।’ गुरुङले कान्तिपुरसँग मंसिर २३ मा भक्तपुरमा आफ्नो घर भएको बताएका थिए । संघीय संसद्को तेस्रो अधिवेशन पुस ११ मा सुरु भएपछि सचिवालयले सांसदलाई काठमाडौंमा घर भए/नभएको यकिन गर्न फाराम भराएको थियो । तर गुरुङले घर नभएको भन्दै फाराममा हस्ताक्षर गरेको स्रोतले जनाएको छ।

संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा काठमाडौं उपत्यकामा घर नहुने सांसदले मात्रै घरभाडा पाउँछन् । घरभाडा लिनेमा सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण पनि छन् । पुस ११ पछि सचिवालयले भराएको फाराममा उनले पनि आफ्नो काठमाडौंमा घर नभएको उल्लेख गरे । कान्तिपुरसँग कात्तिक ३० मा भने बाँसबारीमा घर भएको जानकारी दिएका थिए । उनले पनि पुसको घरभाडा लिएका छन्।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्ट पनि घरभाडा बुझ्ने सूचीमा छिन् । उनले पनि कान्तिपुरसँग कात्तिक २९ मा भैंसेपाटीमा कान्छा छोराको नाममा रहेको घरमा बस्ने गरेको बताएकी थिइन्।

नियमअनुसार घर नहुने सांसदले मासिक १८ हजार रुपैयाँ पाउँछन् । समिति सभापतिले भने २५ हजार ६ सय ८ रुपैयाँ घरभाडा लिन्छन् । काठमाडौं उपत्यकामा घर हुने सांसदले पनि अझै घरभाडा लिइरहेका छन् । काठमाडौंमा घर हुने सांसदले समेत पुसमा अध्यावधिक गरेको विवरणमा घर नभएको भन्दै भाडा असुली गरेका हुन् ।

नेकपाकी सांसद नविना लामाको पेप्सीकोलामा घर छ । सचिवालय विवरणमा घर नभएको भन्दै हस्ताक्षर गरेकी छन् । कान्तिपुरसँग मंसिर ११ मा उनले भनेकी थिइन्, ‘पेप्सीकोलामा श्रीमानको नाममा घर छ ।’ तर उनले पुसको तलबसँगै घरभाडा पनि लिएकी छन् । संसद् सचिवालयका एक पदाधिकारीले भने, ‘श्रीमान् र माइतीको घरमा बसेर मेरो घर छैन भन्नुचाहिँ उपयुक्त होइन ।’

स्रोतका अनुसार पुससम्म घरभाडा लिने सूचीमा कांग्रेस सांसद चित्रलेखा यादव पनि छिन् । उनको ललितपुर भैंसीपाटीमा घर छ । कात्तिक ३० मा कान्तिपुरसँग उनले छोरीलाई दिन बनाएको घरमा बस्ने गरेको बताएकी थिइन् । भनेकी थिइन्, ‘मेरो आफ्नै भन्ने कि नभन्ने, छोरीलाई दिन बनाएको हो ।’ उनले आफ्नो घर नभएको भन्दै भाडा लिने गरेकी छन् । संसद् सचिवालयमा पुसमा भरेको फाराममा पनि उनले घर नभएको भन्दै हस्ताक्षर गरेको स्रोतले जनाएको छ । ‘उहाँ शिक्षामन्त्री हुँदा घर र फार्म हाउसमा नै पुगेको छु,’ शिक्षा मन्त्रालयका एक कर्मचारीले भने ।

नेकपाका समानुपातिक सांसद उद्योगी मोतीलाल दुगडले पनि पुसको घरभाडा बुझेका छन् । तलब पठाउनुअघि संसद्ले पुसमा भराएको फाराममा उनले पनि काठमाडौं उपत्यकामा आफ्नो घर नभएको भन्दै हस्ताक्षर गरेका छन् । तर कान्तिपुरसँग कात्तिक १५ मा उनले भनेका थिए, ‘मेरो नक्सालमा घर छ ।’ काठमाडौंमा घर हुनेले मर्मत खर्चबापत ९ हजार पाउँछन् भने नहुनेले भाडाबापत १८ हजार पाउँछन् । ‘उहाँजस्तो उद्योगपतिले नौ हजारमा किन लोभ गर्नुभएको होला ?’ एक सांसदले भने।

सर्लाहीका सांसद रामेश्वर राय यादवले मंसिर ३ मा कान्तिपुरसँग ललितपुरको इमाडोलमा घर भएको जानकारी दिएका थिए । सचिवालयले पुसमा भराएको फाराममा भने घर छैन भन्दै हस्ताक्षर गरेको स्रोतले जनाएको छ । सचिवालयले पुसको घरभाडा उनको बैंक खातामा पठाएको छ।

कांग्रेसका सांसद किशोरसिंह राठोरले कात्तिक ३० मा कान्तिपुरसँग काठमाडौंको बालुवाटारमा घर भएको जानकारी दिएका थिए । उनले पनि पुसको घरभाडा लिएका छन् । श्रीमान्सँगै मन्त्री क्वार्टरमा बस्ने पूर्वसभामुख एवं सांसद ओन्सरी घर्ती र सत्य पहाडीले पनि अझै घरभाडा बुझिरहेका छन् । ओन्सरीका श्रीमान् वर्षमान पुन जलस्रोत मन्त्री र पहाडीका श्रीमान् शक्तिबहादुर बस्नेत वनमन्त्री हुन् । ‘उहाँहरूको घर काठमाडौंमा नभएको सबैलाई थाहा छ । घरभाडामा लिए पनि उहाँहरू क्वार्टरमा बसुन्जेल भाडा लिनु उचित होइन,’ नेकपाका एक नेताले भने।

काठमाडौंमा घर भएका सांसदको विवरण सार्वजनिक भएपछि २१ सांसदले आफ्नो घर काठमाडौंमा भएको सचिवालयमा जानकारी गराइसकेका छन् । उनीहरूले यसअघि लिएको घरभाडासमेत फिर्ता गरिसकेका छन्।





Comments

comments

Leave a Reply

26583