टेलिभिजन प्रस्तोताको हत्याको सर्वत्र विरोध

एक राजनीतिक सल्लाहकार तथा पूर्वपत्रकारको दिनदहाडै हत्यापछि अफगानिस्तानका राजनीतिज्ञ तथा महिलाअधिकारवादीले विरोध प्रदर्शन गरेका छन्।

एक टेलिभिजनकी पूर्वकार्यक्रम प्रस्तोता रहेकी मीना मंगलको राजधानी काबुलमा शनिबार दिउँसै गोली हानी हत्या भएको थियो । अफगानिस्तानको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मीनाको शनिबार अफगान संसद्को सांस्कृतिक मामिला आयोगमा जाँदै गरेका वेला स्थानीय समयअनुसार शनिबार साढे सात बजेतिर गोली हानिएको जनाएको छ । उनी आयोगमा सल्लाहकारका रूपमा काम गर्थिन्।

 विभिन्न पेसागत समूहको विरोध
हत्याको मानवअधिकारवादी कार्यकर्ता, सञ्चारकर्मी, राजनीतिज्ञलगायत विभिन्न पेसागत संघ संगठनले विरोध गरेका छन् । अफगानिस्तानको सर्वोच्च अदालत, नागरिक समाजका समूह,महिलाविरुद्ध हिंसासम्बन्धी आयोगलगायत सरोकारवाला समूहले हत्याबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । मीना राजनीतिमा पनि सक्रिय थिइन् । ‘ एक युवती दिउँसै मारिएकी छिन् । किनकि, एक पुरुषलाई लाग्यो कि उनी मारिनलायक छिन्, ’ वाज्मा फ्रोगले ट्विट् गरेकी छिन्।

आक्रमणको चेतावनी पाएकी थिइन्
मीना मंगलले आफूमाथि हुन सक्ने आक्रमणको पूर्वचेतावनी पाएकी थिइन् । आफूलाई विभिन्न समूह र व्यक्तिबाट आक्रमणको धम्की आएको र आफ्नो जीवनबारे त्रास बढेको फेसबुकमा उल्लेख गरेको महिलाअधिकारवादी प्रख्यात कार्यकर्ता वाजमा फ्रोगले बताएकी छिन् । धम्कीको प्रवृत्ति अस्पष्ट छ । हत्याअघि उनको पारिवारिक विवाद पनि देखिएकाले सो विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ताको भनाइ उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

 महिलाविरुद्ध हिंसा
मीनाको मृत्युपछि अफगानिस्तानको सामाजिक सञ्जालमा देशमा भइरहेका महिलाहिंसाविरुद्ध चर्को आवाज उठेको छ । अफगानिस्तानमा महिलाविरुद्ध हुने अधिकांश ठूला अपराध दिउँसै र काबुलको अति सुरक्षित मानिने राजधानी काबुलमा हुने गरेको सामाजिक सञ्जालका प्रयोगकर्ताले बताउँदै आएका छन् । तालिबान समूहको प्रभाव रहेको सहरी तथा ग्रामीण इलाकामा लैंगिक हिंसाका विवरण बढी मात्रामा आउने गरेको अधिकारवादी समूहले बताएका छन् । प्रेस अधिकारसम्बन्धी अन्तर्र्रािष्ट्रय संस्था रिपोटर्स विदाउट बोडर्सका अनुसार सन् २०१८ मा पत्रकारका निम्ति सबभन्दा खतरनाक देशको सूचीमा अफगानिस्तान रहेको थियो ।

‘मीनाका हत्यारा पक्राउ हुन्छन्’
अफगानिस्तान सरकारका प्रमुख कार्यकारी अब्दुलाह अब्दुलाहले मीना मंगलको हत्यारालाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । ‘हत्यारा जहाँ गएर लुके पनि प्रहरी प्रशासनले पत्ता लगाएरै छाड्नेछ,’ उनले भने ।  प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । तर, उनको हत्याको पछाडि को छ भन्ने विषयमा अझै प्रस्ट हुन सकेको छैन । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन । आक्रमणमा सशस्त्र तालिवान समूहको संलग्नता रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। नयाँपत्रिकामा खबर छापिएको छ।





Comments

comments

29216