काठमाडौँ, ५ असोज। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी सम्बन्धी असोज ४ गते साँझ ०७:०० बजेसम्मको पछिल्लो खोज, उद्धार तथा राहत विवरण सार्वजनिक गरेको छ।
तथ्याङ्क अनुसार बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या १,४५१ पुगेको छ भने ५,७८६ जना नागरिक अझै बेपत्ता छन्।
मानवीय क्षति र जिल्लागत विवरण
बाढीका कारण देशका विभिन्न भागबाट १,४५१ जनाको शव (मृत्यु संख्या विभिन्न मानव अङ्गसहित) फेला परेको छ। डीएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २ वटा फोटो र नाता प्रमाणितसहित नमुना दिन सकिने प्राधिकरणले जनाएको छ।
मृतकहरूको पहिचानका लागि १,२८६ मृतक र १,९९७ मृतकका आफन्तको डीएनए नमुना संकलन गरिएको छ।
शव फेला परेका मुख्य स्थानहरू:
चितवन: ३७९ जना
नवलपरासी पूर्व: २३२ जना
नवलपरासी पश्चिम: २२२ जना
नुवाकोट: २३६ जना
रसुवा: २०७ जना
गोरखा: ७९ जना
धादिङ: ७२ जना
तनहुँ: ३८ जना
(उपचारको क्रममा काठमाडौँमा ३ जनाको मृत्यु)
शवहरूको थप विवरण:
महिला: ३३६ जना
पुरुष: ५८५ जना
आंशिक अङ्ग: ५३० जना
बेपत्ता, उद्धार तथा घाइते विवरण
बाढी प्रभावित क्षेत्रहरूबाट अझै ५,७८६ जना नागरिक बेपत्ता छन् (हालसम्म सनाखत भएका शवको संख्या ११० घटाइएको)। विपद् क्षेत्रबाट हालसम्म कुल १३,७८४ जनाको जीवितै उद्धार गरिएको छ भने २० वटा होल्डिङ सेन्टरमा प्रभावितहरूलाई सुरक्षित राखिएको छ।
खोज र उद्धारका लागि देशभर कुल २०,९२९ सुरक्षाकर्मी परिचालन गरिएको छ। विभिन्न सुरक्षा निकायबाट हालसम्म १०,१६३ जनाको उपचार गरिएको छ, जसमा हाल विभिन्न ५ वटा अस्पतालमा १६ जना उपचाररत रहेका छन्।
हाल होल्डिङ सेन्टरमा रहेकाहरू:
नुवाकोट: ३२४ जना
रसुवा: ७८६ जना
धादिङ: १२१ जना


