नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। ग्लोबल भुटानीज कम्युनिटी कोलोराडो (जिबिसीसी) को आयोजनामा आगामी अक्टोबर ३ मा हुने वार्षिक भलिबल प्रतियोगितामा छ वटा टोलीको सहभागिता रहने भएको छ।
लिस्बन पार्क, डेनभरमा आयोजना हुने प्रतियोगिता बिहान ७:३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रत्येक टोलीमा ६ जना खेलाडीका अतिरिक्त चार जना वैकल्पिक खेलाडी राख्न सकिने व्यवस्था गरिएको छ। सहभागी टोलीका लागि टिम जर्सी अनिवार्य गरिएको छ।
प्रतियोगितामा विजेता टोलीले ८५१ अमेरिकी डलर नगदसहित टिम ट्रफी तथा व्यक्तिगत ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ५५१ डलर नगदसहित टिम तथा व्यक्तिगत ट्रफी प्रदान गरिनेछ। प्रतियोगिताका लागि प्रति टोली २२१ डलर प्रवेश शुल्क तोकिएको ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोका मिडिया संयोजक हेम गिरीले बताएका छन्।
यसैगरी कार्यक्रममा बाल प्रतिभा प्रस्फुटन तथा आत्मविश्वास अभिवृद्धि गराउन १४ वर्षमुनिका बालबालिकाहरूलाई समेत खेलमा सहभागी गराइने भएको छ। जिबिसीसी का ओम ढुङ्गेलका अनुसार, बालकतर्फ दुई वटा र बालिकातर्फ दुई वटा गरी चारवटा बाल टोलीले समारोहमा आफ्नो खेलकौशल प्रस्तुत गर्नेछन्।
बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा सहभागी गराउँदै उनीहरूको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले उनीहरूलाई कार्यक्रममा समेटिएको ढुङ्गेलले बताए।
‘Together We Play, Together We Win!’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताले नेपालीभाषी समुदायबीच खेलकुदका माध्यमबाट आपसी भेटघाट, सद्भाव, सहकार्य र सामुदायिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमका क्रममा खानाको व्यवस्थासमेत गरिने आयोजकले जनाएको छ।


