नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
अनेसास कोलोराडो शाखाको हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले भूषणलाल श्रेष्ठको संयोजकत्वमा डा. शारदा काफ्ले त्रिपाठी र डा. आनन्द पौडेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो।
वर्तमान कार्यकारिणी समितिको कार्यकाल आगामी लक्ष्मीपूजाका दिन समाप्त हुने भएकाले शाखाको विधानअनुसार नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन समिति गठन गरिएको अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले बताएका छन्।
निर्वाचन समितिले अनेसास कोलोराडो शाखाको विधान, अनेसासको विद्यमान निर्वाचनसम्बन्धी व्यवस्था तथा प्रचलित नियमअनुसार निर्वाचन प्रक्रिया अघि बढाउनेछ। समितिले निर्वाचनको मिति, समय तथा कार्यतालिका निर्धारण गर्नुका साथै निर्वाचन आचारसंहिता र प्रक्रियासमेत सार्वजनिक गर्ने जिम्मेवारी पाएको अधिकारीले बताएका छन्।
नयाँ कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र चार जना सदस्य गरी कुल ९ पदमा निर्वाचन हुनेछ। निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, पारदर्शी तथा विधिसम्मत रूपमा सम्पन्न गर्ने जिम्मेवारी निर्वाचन समितिलाई दिइएको छ। निर्वाचनका लागि आवश्यक संस्थाको विधान, मतदाता नामावली लगायतका सामग्री निर्वाचन समितिलाई उपलब्ध गराइने शाखाले जनाएको छ।


