बैंककमा बसेर करोडौं ठग्ने गुरुङका यस्ता थिए करतुत, थाईल्याण्डमै थिए ३ श्रीमती, इन्काउन्टरको शंकाले नेपाल डिपोर्ट नगर्न आग्रह गरेका थिए

काठमाडौंः थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसारको आरोपमा गत चैतमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। आरोपित सात जना भने अझै फरार रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले परशुराम गुरुङलाई सार्वजनिक गरे पनि अन्य सात जनाको बारेमा प्रहरीले खोजी गरिरहेको छ। नेपाली नागरिकलाई थाइल्याण्डमा बसेर करोडौं ठगी गरेको आरोपमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली दूतावासको सहयोगमा थाइ प्रहरीले चैतमा पक्राउ गरेको थियो। कानुनी प्रक्रिया पूरा गरेर उनलाई शुक्रबार साँझ नेपाल ल्याइएको हो।

मानव बेचविखनकै आरोपमा उनीसँगै इन्टरपोलले किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्ता तुलाधर निरौला, विनोद पाण्डे र सञ्जिव मुडभरीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। उनीहरु कहाँ छन् भन्ने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन। शनिबार सिआइबी प्रमुख डिआइजी निरजबहादुर शाहीले अरुको खोजी भइरहेको बताए। ‘परशुरामलाई ल्याइएको छ अन्यको खोजी गरिरहेका छौं,’ डिआइजी शाहीले भने। सीआइबीका अनुसार ३८ वर्षे गुरुङले कमल, पारस, मनोज, किम, अधिराजलगायतका नाममा ठगी गर्थे।

२०६७ सालदेखि नै उनी ठगीमा संलग्न रहेका थिए। २०६७ सालमा सँगै रहेका राईसहितका अन्य व्यक्तिले भने गुरुङलाई छाडेर आफ्नो छुट्टै समूह बनाए। २०६७ देखि २०७१/०७२ सम्म ५० भन्दा धेरै मानिसलाई क्यानाडा, अस्ट्रेलिया, अमेरिका पठाइदिने भन्दै गुरुङले ठगी गरेका थिए। उजुरी पर्ने क्रम जारी छ। शनिबार पनि सिअइबीमा पीडितहरुको ठूलै समूह भेला भएको थियो। २४ पीडित प्रहरीको सम्पर्कमा आइसकेका छन्। गुरुङले सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीसम्बन्धि जानकारी पठाउने र सामाजिक सञ्जालमार्फत सम्पर्क बनाएर आफू क्यानडाको पियार होल्डर बताउँदै अरुलाई पनि क्यानडाको पिआर दिलाइदिने भन्दै ठगी गरेका थिए। उनले ती देशमा काम लगाइदिने र आर्कषक तलब भत्ताको व्यवस्थासमेत गरिदिने आश्वासन दिएका थिए। गुरुङले प्रतिव्यक्ति ५ लाखदेखि २० लाख रुपैयाँसम्म असुलेका थिए। यो रकम झण्डै १३ करोडभन्दा बढी हुने प्रहरीले दाबी गरेको छ। ‘उनले १३ करोडभन्दा बढी नेपाली रुपैयाँ विभिन्न व्यक्तिको खातामा राख्न लगाएको र पीडितहरुलाई भिजिट भिषामा थाइल्याण्डको बैंकक बोलाएर लुटपाटसमेत गर्ने गरेका रहेछन्,’ सिआइबी प्रमुख शाहीले भने।

क्यानाडा वा अमेरिका पठाइदिने भन्दै गुरुङले मानिसहरुलाई बैंकक बोलाएर बन्धक बनाउने, पीडितले नेपालबाट सटही गरी लगेको अमेरिकी डलर लुट्ने, नेपालमा रहेका आफन्तलाई सम्पर्क गर्न लगाई नेपालस्थित एजेन्टमार्फत थप रकम असुल्न लगाएपश्चात पीडितहरुलाई चरम शोषण गर्ने गरेका थिए। पीडितहरुले उनीविरुद्ध सिआइबीमा उजुरी गरेपछि २०७१/२०७२ सालदेखी मुद्दा दर्तागरी अनुसन्धान सुरु गरेको थियो। हालसम्म ५० जनाभन्दा बढी पीडितले विभिन्न समयमा प्रतिवादी परशुराम गुरुङको नाममा मानव बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा जाहेरी दिएपछि प्रहरीको इन्टरपोल शाखाले डिफ्युज नोटिसका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई आग्रह गरेको थियो।

थाइल्याण्डस्थित नेपाली राजदूतावासको सहयोगमा उनी पक्राउ परेका हुन्। उनलाई पक्राउ गर्ने क्रममा नेपाल सरकारले २०७२ साल जेष्ठ २२ गते पासपोर्ट रद्द गरी विभिन्न समयमा सम्बन्धित निकायसँग लगातार पत्राचार तथा समन्वय गर्दै आएको थियो। उनलाई चैत १५ गते पक्राउ गरेको थियो। ‘डिपोर्ट गर्ने कानुनी प्रक्रिया मिलाउँदा शुक्रबार उनलाई नेपाल ल्याएको हो’, डिआइजी शाहीले भने।

नेपाल नपठाउन आग्रह
बैंककमा पक्राउ परेपछि परशुराम गुरुङले आफूलाई ज्यानको खतरा रहेको भन्दै नेपाल नपठाउन आग्रह गरेका थिए। नेपाली दूतावासलाई पत्र लेख्दै नेपालमा ज्यानको खतरा रहेको भन्दै डिपोर्ट नगर्न आग्रह गरेका थिए। उनी पक्राउ परेपछि गुरुङले बैंककस्थित दूतावासलाई हस्तलिखित पत्र लेखेर नेपाल डिपोर्ट नगर्न आग्रह गरेका थिए।

नेपाल प्रहरीको पहलमा इन्टरपोलले २०७२ असार २९ गुरुङविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। डिफ्युजन नोटिस जारी भएर विदेशी भूमिमा पक्राउ परेकालाई स्वदेश फर्काउनुपूर्व सम्बन्धित देशको इन्टरपोल शाखाले पक्राउ परेका व्यक्तिलाई स्वदेश लगिएपछि सैनिक, राजनीतिक र धार्मिक कारण देखाएर मानव अधिकार हनन् गरिने छैन भन्ने आश्वस्त पत्र सरकारी अधिकारीबाट लिनुपर्ने भएपछि नेपाल सरकारले त्यसको प्रत्याभूतिसहितको पत्रचार गरेपछि उनलाई नेपाल ल्याइएको हो।

तीन श्रीमती,२४ फोन नम्बर
भोजपुर जिल्लाको हेलौचा स्थायी घर भएका गुरुङको नेपाली राहदानी रद्द भएको छ। उनको नेपाली राहदानी रद्द भएसँगै नेपाली श्रीमतीसँग डिभोर्स गरी थाइल्याण्डमै तीन महिलासँग बिहे गरेका थिए। उनका तीनवटै श्रीमतीतर्फ एक/एक सन्तान रहेको प्रहरीले जनाएको छ। पछिल्लो पटक बिहे गरेकी थाई श्रीमती दुई महिनाको सुत्केरी छिन्।

गरुुङले पीडतलाई बेग्लाबेग्लै मोबाइलबाट सम्पर्क गर्ने र एउटालाई दिएको नम्बर अर्कोलाई नदिने गर्थे। सामाजिक सञ्जाल र फरक नम्बरबाट सम्पर्क गर्ने गरेको पैसा लिएपछि मोबाइल अफ गर्ने गरेका थिए। ‘पैसा लिएपछि बैंकक पुर्याउने र त्यहाँ बन्धक बनाएर घरपरिवारसँग पनि पैसा असुलेर पीडितलाई छाडिदिने गरेका रहेछन्। हालसम्म उनको २४ वटा मोबाइल नम्बर फेला परेको छ,’ सिआइवी प्रमुख शाहीले भने। यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29520