हङकङ समाचारः प्रदर्शनकारीलाई ‘आगोसँग नखेल्न’ चीनको चेतावनी

फाइल फोटो

हङकङ — चीनले हङकङमा हालै भएका सरकारविरोधी प्रदर्शनमा संलग्नलाई लक्षित गर्दै ‘आगोसँग खेल्ने प्रयासले आफैंलाई जलाउने’ मंगलबार कडा चेतावनी दिएको छ।

हङकङस्थित चिनियाँ प्रमुख कार्यालयका प्रवक्ताले प्रदर्शनकारीलाई ‘केन्द्रीय सरकारको संयमलाई कम नठान्न’ सुझावसमेत दिएका छन् । हङकङमा पछिल्ला ९ साताका अन्त्यमा लगातार विरोध प्रदर्शन भएका छन् । गत सोमबार आहृवान गरिएको आम हडतालका कारण विभिन्न क्षेत्रहरू पूर्णरूपमा ठप्प हुनुका साथै २ सयभन्दा बढी हवाई उडान रद्द भए।

हङकङ सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन पछिल्ला दिनमा लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित छ । आइतबार र सोमबार गरिएका विरोधका सहभागीले प्रहरी दमनको स्वतन्त्र छानबिन, सुपुर्दगी विधेयक फिर्ता तथा हङकङकी कार्यकारी प्रमुख क्यारी लामको राजीनामा माग्दै आएका छन्।

विश्वकै शान्तमध्येको सहर हङकङमा गरिएका विरोधका क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक घटना हुने गरेका छन् । पछिल्ला साताहरूमा प्रदर्शनकारी, प्रहरी र आपराधिक समूहसँग निकट ठानिएका मुखुन्डोधारीबीच हिंसात्मक झडपहरू हुन थालेका हुन्।

‘आगोसँग नखेल्न’ चीनको चेतावनी

चीनस्थित हङकङ तथा मकाउ मामिला कार्यालय (एचकेएमएओ) प्रवक्ता याङ गुआङले ‘कट्टरपन्थी प्रदर्शनहरूले’ हङकङलाई ‘धेरै खतरनाक अवस्थाको नजिक’ पुर्‍याएको बताएका छन् । उनले ‘संयमतालाई कमजोरी नसम्झन’ प्रदर्शनकारीहरूलाई चेतावनीसमेत दिएका छन्।

याङले कार्यकारी प्रमुख लामलाई राजीनामा गराउने प्रयासले कहीं नपुर्‍याउने भन्दै प्रदर्शनले हङकङको अर्थतन्त्रमा गम्भीर असर पारेको जनाए । याङको चेतावनीलाई हङकङमा प्रदर्शन सुरु भएयताकै कडा ठानिएको छ।

एचकेएमएओले हङकङमा विरलै पत्रकार सम्मेलन गर्ने इतिहास रहेपनि प्रदर्शन सुरु भएयता दुईपटक गरिसकेको छ । याङले ‘कट्टरपन्थी र हिंसात्सक शक्तिको नेतृत्वमा गरिएको प्रदर्शनमा कतिपय नागरिक कुरै नबुझी सहभागी भएका’ दाबी गरे।

याङले दक्षिणका चीनविरोधी कपियत शक्ति अशान्ति फैलाउन लागिपरेको आरोप लगाउँदै अमेरिकी सभामुख नान्सी पेलोसीले ‘प्रदर्शनलाई दर्शन गर्न योग्य’ र तत्कालीन बेलायती विदेशमन्त्री जेरमी हन्टले ‘प्रहरी दमनको छानबिन हुनुपर्ने’ प्रतिक्रिया दिएको उदाहरण दिए।

यसअघि एचकेएमएओ प्रवक्ता याङले एक विज्ञप्ति जारी गर्दै हङकङको प्रदर्शनमा ‘कट्टरपन्थी तत्त्वहरूको हात रहेको’ दाबी गरेका थिए । विज्ञप्तिमा ‘कट्टरपन्थी तत्त्वहरूले गरेका खराब र आपराधिक कार्य’ को निन्दा तथा ‘हङकङको प्रदर्शनले कानुनी शासनमाथि नै गम्भीर असर पुर्‍याएको’ दाबी गरिएको थियो । हङकङमा मन्त्रिपरिषद् स्तरको अधिकार रहेको एचकेएमएओले कार्यकारी प्रमुख क्यारी लाम र प्रहरीको बचाउ गर्दै प्रतिक्रिया दिने गरेको छ।

अघिल्लो साता प्रदर्शनका क्रममा कपितय सहभागी चिनियाँ सरकारी कार्यालयतर्फ अघि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । कार्यालय रहेको भवनको ढोकामाथिको चिनियाँ प्रतीकमा प्रदर्शनकारीले तोडफोड प्रयास गरेपछि चिनियाँ अधिकारीले उक्त कदम ‘सह्य नहुने’ चेतावनी दिएका थिए । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले यसअघि ‘चीनको सम्पर्क कार्यालयमा आक्रमण गर्ने प्रदर्शनकारीको कदम निस्तेज पार्न हङकङका नेताले सेनाको सहयोग माग्न सक्ने’ बताएका थिए।

उनको भनाइसँगै हङकङमा रहेका चिनियाँ जनमुक्ति सेना परिचालन हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । हङकङमा सार्वजनिक सुव्यवस्था कायम राख्न वा विपद् व्यवस्थापनमा आवश्यक सहयोगका लागि सरकारले चिनियाँ जनमुक्ति सेनालाई आग्रह गर्न सक्ने कानुनी व्यवस्था छ ।

अपराध तथा बलात्कार आरोपीलाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन चर्केको हो । चिनियाँ न्याय प्रणालीले हङकङका जनता पीडित हुने प्रदर्शनकारीको दाबी छ । विधेयकले हङकङको स्वतन्त्रतालाई अवमूल्यन गर्ने र राजनीतिक कार्यकर्ता निसानामा पर्ने भदै विशाल प्रदर्शनहरू गरिँदै आएको छ।

विधेयकको विरोधमा व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधर उत्रेपछि प्रमुख कार्यकारी क्यारीले विधेयक स्थगनको घोषणा गरेकी थिइन् । तर प्रदर्शनकारीहरूले विधेयक फिर्ता, ‘प्रहरी दमन’ को स्वतन्त्र छानबिन र प्रजातान्त्रिक सुधारको माग गरिरहेका छन् । त्यसैगरी पछिल्ला दिनमा भएका प्रदर्शनमा ‘प्रजातान्त्रिक ढंगले निर्वाचित नभएकी हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा’ माग गरिएको छ।

सन् १९९७ मा स्वतन्त्र हुनुअघि बेलायतको उपनिवेश हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउने गर्छ । बेलायतबाट स्वतन्त्र भएयता हङकङलाई ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत चीनले शासन गर्दै आएको छ । यद्यपि, हङकङमा छुट्टै न्यायालय, संसद् र अर्थ व्यवस्था छ। यो सामग्री कान्तिपुर डेलीमा प्रकाशित छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31230