यसरी बन्दैछ धरहरा, कहिले हुन्छ पूरा?

फाइल फोटो

भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ।

धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ।

अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ । निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीकाअनुसार पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय सिंहदरबारमा बिहीबार धरहरा पुनर्निर्माण प्रगति समीक्षा गरिएको थियो।

सो क्रममा जीआईईटीसी–रमन जेभीका कन्ट्र्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले समग्रमा २६ प्रतिशत प्रगति हासिल भएको जनाए । उनका अनुसार निर्माणस्थलका हिसाबले भने ६७.५ प्रतिशत प्रगति भएको छ।

धराहरा पुनर्निर्माणअन्तर्गत सुनधाराको गोश्वारा हुलाक नै हटाएर काम अघि बढिरहेको छ । गोश्वारा हुलाक रहेका भवनहरू भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरू हाल्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरू समानान्तर रूपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए । ‘गुणस्तर कायम राख्न कुनै कसर बाँकी राख्न भएन, तोकिएकै समयमा काम सम्पन्न हुनुपर्दछ,’ उनले भने । यो समाचार राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।





Comments

comments

31881