कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड

ललितपुर । नेपाल र दक्षिण कोरियाबीचको श्रम सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ ‘नेपाल-कोरिया श्रम सहयोग गोष्ठी’ आज सम्पन्न भएको छ।

नेपालका लागि कोरियाली दूतावास र रोजगार अनुमति प्रणाली केन्द्र (ईपीएस सेन्टर) को सहकार्यमा युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा वैदेशिक रोजगारीबाट प्राप्त सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड दिइएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ईपीएस कार्यक्रमले वित्तीय विप्रेषण मात्र नभई सामाजिक विप्रेषणसमेत सिर्जना गरिरहेको बताए । मन्त्री यादवले भने, ‘कोरियाबाट फर्केका नेपालीले सीप, अनुशासन, आत्मविश्वास र व्यावसायिक अनुभव लिएर आउनुहुन्छ, यही अनुभवले उहाँहरूलाई रोजगारी खोज्नेबाट रोजगारदातामा रूपान्तरण गर्न मद्दत पुर्‍याएको छ।’

विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका सात जना सफल उद्यमीलाई मन्त्रालयले हालै सम्मान गरेको जनाउँदै तीमध्ये दुई जना दक्षिण कोरियाबाट फर्किएका हुनु यसको सफल उदाहरण रहेको मन्त्री यादवले उल्लेख गरे। दक्षिण कोरियाको विकास यात्राको उदाहरण दिँदै उनले कुनै समय कोरियाका नागरिक कामको खोजीमा अन्यत्र जाने गरेको स्मरण गरे।

मन्त्री यादवले भने, ‘कोरियाको यात्राले नेपालका लागि एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, कुनै पनि देश श्रमिक पठाउने मुलुकबाट सुरु भएर आफ्नै देशमा आकर्षक अवसर सिर्जना गर्ने राष्ट्रमा रूपान्तरण हुन सक्छ ।’ यसका लागि आप्रवासनलाई सीप, बचत, लगानी र उद्यमशीलतामा बदल्ने स्पष्ट राष्ट्रिय दृष्टिकोण र नीति आवश्यक रहेको उनको तर्क छ।

ईपीएस परीक्षा ढाँचा (ईपीएस मोडल) लाई अन्तरराष्ट्रिय श्रम आप्रवासनका लागि एउटा उदाहरणीय ढाँचा मान्दै मन्त्री यादवले यसमा अवलम्बन गरिने पारदर्शी छनोट प्रक्रिया र डिजिटल प्रणालीको प्रशंसा गरे । सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन महत्त्वपूर्ण सुधार गरिरहेको भन्दै उनले यसमा ईपीएस परीक्षा ढाँचामा अवलम्बन गरिने सकारात्मक मार्गबाट धेरै कुरा सिक्न सकिने बताए।

मन्त्री यादवले दुवै सरकारलाई ईपीएस आकाङ्क्षीहरूलाई स्पष्ट र भरपर्दो सूचना उपलब्ध गराउन तथा कार्यस्थलको सुरक्षा र कामदारको मानसिक स्वास्थ्यमा ध्यान दिन अनुरोध गरे । साथै, कोरियाबाट फर्केका र फर्कने तयारीमा रहेका कामदारका लागि सञ्चालित पुनःएकीकरण कार्यक्रममा थप सहकार्य गर्न दक्षिण कोरियाली सरकारलाई उनले आग्रह गरे।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत, नेपालका लागि मलेसियाका राजदूत, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र ईपीएसमार्फत कोरिया पुगेर स्वदेश फर्केका नेपालीहरूको उपस्थिति थियो। रासस





Comments

comments

139777