काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकार, सेवा पहुँच तथा आवश्यक नीतिगत सुधारका विषयमा छलफल भएको छ।
मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालका प्रतिनिधिमण्डलले मन्त्री मेहतासँग भेट गरी समुदायका स्वास्थ्य समस्याबारे ध्यानाकर्षण गराएका हुन्।
भेटका क्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती, हर्मोन थेरापी, लिङ्ग परिवर्तन शल्यक्रिया तथा समुदायमैत्री स्वास्थ्य सेवाको आवश्यकतालगायत विषयमा विस्तृत छलफल भएको थियो । छलफलका क्रममा मन्त्री मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको मुख्य दायित्व भएको उल्लेख गरिन्।
उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका स्वास्थ्य आवश्यकता सम्बोधनका लागि आवश्यक नीतिगत तथा प्राविधिक पक्षमा मन्त्रालय सकारात्मक रहेको प्रष्ट पारिन् । मन्त्री मेहताले सम्बन्धित निकाय तथा सरोकारवालासँग आवश्यक समन्वय गरी समुदायको स्वास्थ्य अधिकार सुनिश्चित गर्न पहल अघि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरिन्।
उक्त भेटघाटमा मायाको पहिचान नेपालका संस्थापक सुनीलबाबु पन्तसहित समुदायका विभिन्न प्रतिनिधिहरूको सहभागिता रहेको थियो। रासस


