मुख्यमन्त्रीलाई किशोरीहरूको ज्ञापनपत्र

ज्ञापन पत्र बुझ्दै मुख्षमन्त्री गुरुङ

सुवास मल्ल / एचकेनेपाल डट कम –

नवलपरासी सुस्तापूर्व (नवलपुर) जिल्ला देवचुली नगरपालिकाका किशोरीहरुले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई २५ बुँदे ध्यानार्कषण पत्र बुझाउँदै प्रदेशलाई नेपालकै पहिलो बाल मैत्री प्रदेश बनाउन माग गरेका छन्।

मंगलबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री गुरुङ्गलाई किशोरीहरुले भौतिक संरचना निर्माणसँगसँगै किशोरी तथा बालिकाहरूको क्षमता अभिबृद्धि गर्नका लागि लगानी बृद्धि गरिदिन अनुरोध गरेका छन्। त्यसै गरी प्रदेशको बालबालिकासम्बन्धी ऐन, महिला र बालबालिकाको सवाल हेर्ने संसदीय समिति तथा बालिका उप–समितिको पनि माग गरेका छन्।

उनीहरुले प्रत्येक विद्यालयमा बालिका मैत्री शौचालयको साथै स्थानीय तहमा बाल हेल्पलाइन, बालबालिका हेर्ने छुट्टै डेक्स, बालमैत्री स्थानीय शासन, बालबालिका तथा किशोरकिशोरी स्रोतकेन्द्र, बालिका विमा कार्यक्रम तथा बालिका मैत्री अनुसन्धान र न्यायिक प्रणाली लगायतको व्यवस्था गरिदिन ध्यानाकर्षण गराएका छन्।

किशोरीहरुको ज्ञापन पत्र ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशलाई बाल मैत्री तथा किशोरी मैत्री बनाउनका लागि काम गरिरहेको बताउनुभयो। उहाँले प्रदेश सरकारले बोलेर होइन काम गरेर जवाफ दिने पनि किशोरीहरुलाई आश्वासन दिनुभयो।

त्यसै गरी सामाजिक विकास मन्त्री नरदेवी पुन मगरलाई भेटेर उनीहरुले बालिकाहरुका लागि नीतिगत रुपमा सक्षम बनाउन र आवश्यक बजेटसमेत विनियोजन गरिदिन आग्रह गरे।

उता उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साललाई भेटेर पर्यटनका साथ साथै बढ्न सक्ने बाल बालिकाहरुको बेचबिखन, यौन दुव्र्यवहार, मनोरञ्जनका क्षेत्रमा बालबालिकाहरुको प्रयोग, लागु पदार्थ दुव्र्यसनी, अपराध जस्ता कुराहरुमा सजग रहँदै किशोरी सुरक्षाका लागि समेत पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

जागृति बाल तथा युवा सरोकार नेपालको व्यवस्थापनमा देवचुली नगरपालिकाबाट पोखरा आएका ४५ जना किशोरीहरुले यस अगाडि नै प्रदेश सभाका उपसभामुख श्रृजना शर्मालाई भेटेर आफूहरुले स्थानीय स्तरमा बालिका सुरक्षाका लागि गरिरहेको पहल बारे जानकारी गराउँदै त्यसलाई संस्थागत गर्नका लागि कडा कानुन पारित गरिदिन भूमिका खेल्न अनुरोध गरेका थिए।

क्यानालानको सहयोगमा देवचुली नगरपालिकामा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रममार्फत किशोरी समूहहरुले बालिका मैत्री शौचालय निर्माण अभियान, किशोरीहरुलाई आत्मरक्षा तालिम, बालिकाहरुलाई घरेलु महिनावारी प्याड बनाउने तालिम, क्षमता विकास तथा जीवनउपयोगी सीप तालिम, बालिका सम्मेलन आदि सञ्चालन गर्दै आएका छन्।

उनीहरुले प्रदेश सरकारका अधिकारीहरुलाई समेत किशोरी सुरक्षा, बाल विवाह, परिचान, आत्महत्या, लागु औषध दुव्र्यसनी, किशोरी मैत्री भौतिक निर्माण, बालबालिका नीति, भेदभाव, यौन जन्य हिंसा आदिका विषयमा पनि कुरा उठाएका थिए।

पोखरा बसाईंका क्रममा उनीहरुले पोखराको संस्था चिल्ड्रेन नेपालको भ्रमण गरी पोखराका बालबालिकाहरुसँग पनि अन्तरक्रिया गरेका थिए।





Comments

comments

33491