बिएनओ पासपोर्ट होल्डरले बेलायती नागरिकता पाउने…

फोटो सौजन्यः gov.uk

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, २९ मे। हङकङका बिएन (ओ) राहदानीवाहकले बेलायती नागरिकता पाउन सक्ने बाटो खुलेको छ।

चीनले हङकङको राष्ट्रिय सुरक्षा कानुन फिर्ता नलिए बेलायत सरकारले हङकङका बिएनओ [ब्रिटिश नेश्नल (ओभरसीज)] राहदानीवाहकलाई बेलायती नागरिकता दिने प्रक्रिया शुरु गर्ने बताएका छन्।

साउथ चाइना मर्निङ पोष्ट लेख्छ – यदि चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गर्यो भने बिएनओ पासपोर्ट होल्डर हङकङेलीले बेलायती नागरिकता प्राप्त गर्न सक्ने छन्।

बेलायती सरकारले बिहीबार लामो-समय अल्झिएर रहेको यो नीतिमाथि नाटकीय परिवर्तन गर्दै हङकङका बिएनओ राहदानीवाहकहरुले बेलायती नागरिकता प्राप्त गर्न सक्ने घोषणा गरेको हो।

बेलायतका विदेशमन्त्री डोमिनिक राब र गृहमन्त्री प्रिती पटेलले चीनको शीर्ष विधायिका नेशनल पिपल्स काँग्रेसले बेलायतको पूर्व उपनिवेश हङकङमा राष्ट्रिय सुरक्षा कानून लगाउने निर्णय गरेकै दिन यस्तो घोषणा गरेका हुन्।

बेलायतले १९९७ मा हङकङ चीनमा हस्तान्तरण हुनुअघि जन्मेको हङकङेलीलाई ब्रिटिश नेश्नल (ओभरसीज) राहदानी जारी गरिएको थियो। हालको नियममा राहदानीवाहकहरू ६ महिनासम्म बेलायतको भ्रमण गर्न सक्दछन्। तर काम गर्न वा नागरिकताको लागि आवेदन दिन सक्दैनन्।

डिसेम्बरसम्म झण्डै ३ लाख हङकङेलीले बिएनओ राहदानी लिएका छन्।

विदेशमन्त्री राबले भने कि बेलायत अब यो नियम परिवर्तन गर्न तयार छ।

‘यदि चीनले यस्तै बाटो अपनाउंछ र राष्ट्रिय सुरक्षा कानून लागू गर्दछ भने हामी त्यो स्थिति बदल्नेछौं’, विदेशमन्त्री रावले भने। बेलायती नागरिकता आवेदनको प्रक्रियाका लागि १२ महिनाको समय दिइने उनले बताए। ‘हामीले छ महिनाको सीमा हटाउनेछौं र ती बिएनओ पासपोर्ट वाहकले यूके आउन, काम गर्न र अध्ययन गर्न आवेदन दिन सक्नेछन्। १२ महिनाको विस्तारित अवधिले भविष्यमा नागरिकता प्राप्त गर्नको लागि मार्ग प्रशस्त गर्ने छ’।

‘यसै बीचमा हामी चीनलाई किनारबाट पछि हट्न र अन्तर्राष्ट्रिय समुदायको एक प्रमुख सदस्यको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दछौं,’ विदेशमन्त्री राबले थपे।

विदेशमन्त्री राबले गहिरो चिन्तिा व्यक्त गर्दै ट्विट गरेका छन् “यदि राष्ट्रिय सुरक्षा कानून लागू गरियो भने बीएनओ पासपोर्ट धारकहरूको लागि बेलायती नागरिकता प्राप्त गर्न सक्ने विकल्पहरूको खोजी गर्नेछौं।”





Comments

comments

36779