हङकङ सरकारले जुलाई ८ बाट $१०,००० बाँड्ने…

फाइल फोटो

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, ८ जुन । कोरोनाको महामारीले गाँजेको बेला हङकङ सरकारले जनतालाई दिने भनिएको १० हजार हङकङ डलर राहत रकमको वितरण प्रक्रिया छिट्टै शुरु हुने भएको छ।

गत फेब्रुवरीमा सरकारले १८ वर्षमाथिका प्रत्येक स्थायी बासिन्दालाई पर्ने आर्थिक भार कम गर्न १० हजार हङकङ डलर (१२ सय यूयस डलर) वितरण गर्ने घोषणा गरेको थियो।

हङकङका अर्थमन्त्री पाउल चानले सोमवार बोल्दै जुलाई ८ देखि नागरिकले १० हजार हङकङ डलर प्राप्त गर्ने बताएका छन्।

अर्थमन्त्री चानले गत फेब्रुअरीमा बजेटमा घोषणा गरिएको ह्यान्डआउटका लागि योग्य नागरिकले जून २१ देखि आवेदन दिन सक्ने बताएका छन्।

अर्थमन्त्री चानले आवेदन पेश गर्न तीन प्रकारका विकल्प छान्न सक्ने सुझाब दिएका छन्।

१) ई-बैंकिंङ साइटमार्फत आवेदन दर्ता गर्ने,
२) आवेदन फारम भरेर बैंकमा पेश गर्ने या
३) सरकारले तोकेको पोष्ट बक्समा आवेदन फारम भरेर पेश गर्न सक्नेछन्।

जोसँग बैंक खाता छैन उनीहरूले मेलद्वारा चेक प्राप्त गर्न सक्नेछन्।

अर्थमन्त्री चानले इलेक्ट्रोनिक रूपमा आवेदन फारम दर्ता गर्नेहरूले एक हप्ताभित्र पैसा प्राप्त गर्ने बताएका छन्। त्यस्तै, यदी कागजी फारम बुझाउंछन् भने उनीहरुले दुई हप्तामा पैसा पाउनेछन्।

आफ्नो बजेट भाषणमा अर्थमन्त्री चानले १८ वर्ष वा सोभन्दा माथिका सबै हङकङका स्थायी बासिन्दालाई “स्थानीय उपभोगलाई बढावा दिन र अर्कोतर्फ जनताको आर्थिक बोझ कम गर्न” नगद भुक्तानी दिने घोषणा गरेका थिए।

यसको लागि छुट्याइएको करीब ७१ बिलियन हङकङ डलरले लगभग ७० लाख नागरिकहरु लाभान्वित हुने आशा गरिएको छ।

अर्थमन्त्री चानको १० हजार ह्यान्डआउट्सको घोषणालाई विपक्षी दललगायत सबै राजनीतिक दलहरूले स्वागत गरेका थिए।

यसअघि, हङकङ सरकारले ४ हजार डलर र विद्यार्थीलाई ३ हजार पाँच सय हङकङ डलर राहत दिइसकेकाे छ। त्यस्तै, कोरोना महामारीको समयमा कामदारको ६ महिनासम्म तलबको ५० प्रतिशत हङकङ सरकारले ब्योहोरी दिने घोषणा गरेको थियो।





Comments

comments

37025