नदीको सतह खतरातर्फ…

काठमाडौं – देशभर मनसुनी वर्षा हुने क्रमसँगै केही क्षेत्रमा निरन्तर वर्षा हुँदा ठूला तथा साना नदीमा बाढी आउन थालेको छ।

कतिपय ठाउँमा बाढी र तराईका भू–भागमा बाढीसँगै डुबानले जलमग्न बनाउन थालेको छ । पहाडी तथा मध्यपहाडी क्षेत्रमा बाढी र पहिरोले जनधनको क्षति पु¥याएको छ।

फाइल फोटो

विगत २४ घण्टामा कास्कीस्थित वर्षा मापन केन्द्रमा अत्यधिक २५०.९ मिलिमिटर वर्षा भएको छ । अन्य दुई केन्द्रमा २०० मिलिमिटर वर्षा भएको छ । त्यस्तै दरबाङ स्टेसनमा १५०.६, खुदी बजारमा १४९.४, स्याङ्जामा १४८.६, बर्दघाटमा १५०.८ र बेसीसहरमा १६९.४ मिलिमिटर वर्षा भएको छ।

वर्षा बढेसँगै नदीको सतह उर्लंदो छ । सप्तकोसीमा बाढी बढेपछि भारततर्फका ३८ ढोका खोलिएका छन् । कोसीको बाढीले सतर्कता तह पार गर्दै खतराको तहतर्फ बढ्दै गरेको बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलले बताए । कोसीको जल सतह शुक्रबार दिउँसो ६.२३ मिटरमाथि पुगेको छ। सात मिटर यसको खतराको तह हो।

चितवनको नारायणी नदीमा पनि बहाव बढ्दै गएको छ । नारायणीको बाढीले सतर्कताको तह पार गरेर खतरातर्फ अगाडि बढेको छ । नारायणगढस्थित स्टेसनका अनुसार ११ मिटरको सतर्कता तह पार गरेर ११.१३ मिटरमाथि नारायणीको भेल बगिरहेको छ । नारायणीकै देवघाटस्थित स्टेसनमा सतर्कता तह पार गरेर ७.६८ मिटरमाथि बहाव भइरहेको छ । अबका तीन दिन कन्काई, कमला, कोसी, कमला, वाग्मती, लालबकैया, नारायणी लगायतका नदीमा उच्च बहाव हुने भएकाले तटीय क्षेत्रमा सतर्क हुन भनिएको छ।

कञ्चनपुरको शान्तिपुर बेलौरी, नवलपरासीको डण्डा, परासी बर्दघाट, चितवनको माडी, लमजुङको बेसीसहर क्षेत्रमा भारी वर्षा भएकाले सतर्क रहन एसएमएस पठाई स्थानीयवासीलाई सुरक्षित रहन भनिएको छ। यो समाचार गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन्।





Comments

comments

37552