अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो

वीरगञ्ज, अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ।

आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका उद्योगले भारतीय कामदार भित्र्याएका हुन्।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उद्योगहरुले भारतीय मजदुर अवैद्य रुपमा ल्याएर कोरोनाको सङ्क्रमण फैलाएको व्यापक जनगुनासो आएको स्पष्ट पारे। यही गुनासोका आधारमा ती उद्योगहरुको अनुगमन सुरु गरिएको पनि बस्नेतले बताए।

फाइल तस्वीर

उद्योग सञ्चालन गर्न सरकारले मापदण्ड तोकेको छ। कामदारको पीसीआर परीक्षणलाई अनिवार्य गरिएको छ। कामदारलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउनुपर्ने र उद्योग परिसरभित्रै बस्ने व्यवस्था मिलाउनुपर्छ । तर यो मापदण्डलाई पर्सा–बारा औद्योगिक करिडोरका अधिकांश उद्योगले पालना नगरेको जनगुनासो छ।

वीरगञ्ज भिस्वाका धिरज पासवनले भारतीय कामदार सहजै भित्रिइरहेका र उद्योगले कुनै होशियारी वा सुरक्षा मापदण्ड नअपनाई ती कामदारलाई काममा लगाएकाले समुदायमै सङ्क्रमण फैलिएको आरोप लगाए । भारतीय कामदारहरु टोलटोलमा देखिने गरेको स्थानीयले बताए।

वीरगञ्ज र पर्सा–बारा औद्योगिक करिडोरमा रहेका ट्रक÷बसको बडी बनाउने, टायर मर्मत गर्ने, सवारी साधनका मेसिनरी सामान बेच्ने र मर्मत गर्ने वर्कसपमा भारतीय कामदारहरु देखिने गरेका छन्। यो समाचार गोरखापत्र दैनिकमा दीपकप्रसाद गौतमले लेखेका छन्।





Comments

comments

37786