१३ औं आहा ! रारा गोल्ड कपबाट १५ लाख बचत

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा, १९ असार। तेह्रौं आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७१ बाट १५ लाख ४५ हजार ६४ रुपैया बचत भएको छ। यो बचत अघिल्लो संस्करण भन्दा करीब १४ लाखले कमि हो। अघिल्लो बर्ष भने २९ लाख बचत भएको थियो।


तस्वीरः सुदर्शन रञ्जित

प्रतियोगिताबाट ६९ लाख ४३ हजार २ सय ६७ रुपैयाँ आम्दानी भएको शनिबार पोखरामा आयोजित आय–व्याय सार्वजनीक कार्यक्रममा क्लवले जानकारी गराएको हो। प्रतियोगिता सम्पन्न गर्न ५३ लाख ९७ हजार ५ सय ३ रुपैयाँ खर्च भएको अर्थ संकलन उप–समिति संयोजक प्रकाश शेरचनले बताए।

मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउ चाउबाट ९ लाख, सहप्रयोजक रेडवुलबाट ४ लाख, उपप्रायोजक माईक्रोम्याक्सबाट मोवाईलबाट २ लाख ४६ हजार, व्यानर प्रायोजनबाट १९ लाख ८७ हजार र प्रवेश टिकटबाट २५ लाख ३८ हजार ८ सय ३८ रुपैयाँ, लगायतका विभिन्न् शिर्शकमा रकम संकलन भएको छ। खेलाडी दैनिक भ्रमण खर्च २१ लाख, रेफ्रि खर्च ३ लाख, ग्राउण्ड व्याबस्थापन खर्च ३ लाख ६२ हजार, प्रोत्साहन खर्च ६ लाख, प्रचार प्रसार खर्च ३ लाख लगायतका शिर्षकमा खर्च भएको क्लवले जनाएको छ।

बचत रकम सहारा एकेडेमीको लागि खर्चिने भएको क्लवका अध्यक्ष बिरभद्र आचार्यले बताए। गत बर्षको बाह्रौं आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिताबाट करीब २९ लाख रुपैया बचत भएको थियो। क्लवका अध्यक्ष आचार्यले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगदाता तथा शुभेच्छुकलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन।

सहारा एकेडेमीमा हाल १५ जिल्लाका २६ जना वालकहरु रहेका छन्। ३० जनाको क्षमता भएको एकेडेमीमा थप ४ जना भूकम्पबाट प्रभावित भएका वालकहरु राखिने योजना भएको क्लवका महासचिव केशव बहादुर थापाले बताए।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापना गरौं” भन्ने मुल नाराका साथ गत माघ २० गते देखि फागुन २ गतेसम्म पोखरा रंगशालामा आयोजना भएको प्रतियोगितामा दुई विदेशीसहित १२ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा थ्रि स्टार क्लवले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो।





Comments

comments

4185