फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धका प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले स्थानीय स्तरमा कर्फ्यु लगाउन आह्वान गरेका छन्। प्रदर्शनकारीहरूले सोमबार पेरिसस्थित लुभ्र सङ्ग्रहालयको प्रवेशद्वार अवरुद्ध पारेका छन्।
सप्ताहान्तमा देशभर भएका प्रदर्शनका क्रममा पसलहरूमा तोडफोड र लुटपाट हुनुका साथै सार्वजनिक भवन तथा सवारीसाधनमा आगजनी भएको थियो । प्रहरीले अवस्थामाथिको नियन्त्रण गुमाएको गृहमन्त्री लरेन्ट नुनेजले बताएपछि प्रधानमन्त्रीले मन्त्रीहरूसँग सङ्कटकालीन बैठक गरेका थिए।
आगामी शनिबार पुनः प्रदर्शन गर्ने ‘येलो भेस्ट’ आन्दोलनको घोषणापछि लेकोर्नुले क्षेत्रीय अधिकारीहरूलाई आवश्यकताअनुसार आंशिक तथा स्थानीय कर्फ्यु लगाउन आग्रह गरेका हुन् । उनले सार्वजनिक व्यवस्था पुनःस्थापित गर्न सरकार प्रतिबद्ध रहेको र आवश्यक परे सङ्कटकाल घोषणा गर्नसमेत तयार रहेको बताए।
गत शनिबार फ्रान्सभर करिब पाँच लाख मानिस जीवनयापनको बढ्दो लागतविरुद्ध सडकमा उत्रिएका थिए । चार सातादेखि जारी प्रदर्शन सुरुमा विद्यालयको वातावरण सुधारको माग गर्दै विद्यार्थीहरूले थालेका थिए । पछि यसले व्यापक जनआन्दोलनको रूप लिएको थियो।
प्रदर्शनका क्रममा मुखुन्डो लगाएका समूहहरूले सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै नगर भवनलगायत सार्वजनिक संरचनामा आगजनी र पसलहरूमा लुटपाट गरेका थिए । प्रहरीको कारबाहीमा प्रदर्शनकारीसमेत घाइते भएका छन्।
न्यायमन्त्री जेराल्ड डारमानिनका अनुसार सप्ताहान्तमा दुई हजार ३३० भन्दा बढी मानिस पक्राउ परेका छन् । यसअघि सार्वजनिक विवरणमा झडपका क्रममा करिब एक हजार सुरक्षाकर्मी घाइते भएको उल्लेख गरिएको थियो।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गृहमन्त्री नुनेजको राजीनामा प्रस्ताव अस्वीकार गरेका छन् । यद्यपि, देशभर करिब ६० हजार सुरक्षाकर्मी परिचालन गरिए पनि सुरक्षा तथा गुप्तचर संयन्त्रमा कमजोरी रहेको उनले स्वीकार गरेका छन्।
फ्रान्सको चेम्बर अफ कमर्सका अध्यक्ष एलेन डि क्रेसेन्जोका अनुसार हिंसाका कारण देशभर दुई हजारभन्दा बढी पसल प्रभावित भएका छन्। क्षति सयौँ मिलियन युरो पुग्ने अनुमान गरिएको छ।
फ्रान्समा मार्चयता डिजेलको मूल्य करिब ४० प्रतिशत र पेट्रोलको मूल्य २५ प्रतिशतले बढेको छ । सन् २०२१ यता खाद्यवस्तुको मूल्य पनि २५ प्रतिशतले वृद्धि भएको छ।
युरोपेली सङ्घले हिंसाको निन्दा गर्दै शान्तिपूर्ण प्रदर्शनको अधिकारको रक्षा हुनुपर्ने बताएको छ । जर्मनी र बेलायतले पनि हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्।
यसैबीच, इटाली, बेल्जियम, स्पेन र पोर्चुगलमा पनि जीवनयापन तथा आवासको बढ्दो लागतविरुद्ध प्रदर्शन भइरहेका छन् । फ्रान्समा भने आगामी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा अशान्तिले राजनीतिक तनावसमेत बढाएको छ। रासस


