Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राष्ट्रपतिको जानकी मन्दिर भ्रमणपछि ढुंगामुढा

जनकपुर, राष्ट्रपति विद्या भण्डारीले जनकपुरको जानकी मन्दिर दर्शन गरेपछि उत्पन्न तनावका कारण ऐतिहासिक रामजानकी विवाह महोत्सव प्रभावित भएको छ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपतिको पूर्व निर्धारित कार्यक्रमको विरोध गर्ने निर्णय गरेपछि बुधबार बिहानैदेखि जनकपुरको अवस्था तनावग्रस्त थियो । राष्ट्रपतिको सुरक्षाका लागि मंगलबारै काठमाडौंबाट आएको नेपाली सेनाको विशेष टोलीले जानकी मन्दिरलाई सुरक्षा घेरामा राखे पनि आन्दोलनकारीको प्रभाव बढ्न थालेपछि बुधबार थप तीन भ्यान सेना मगाइएको थियो।

नेपाली सेनाको सुरक्षा घेरामा राखिएको जानकी मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी तैनाथ गरिएको थियो । करिब साढे ११ बजे अञ्चल प्रहरी कार्यालय परिसरमा हेलिकोप्टर अवतरण भएलगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँगै राष्ट्रपति जानकी मन्दिर पुगेकी थिइन् । टोलीमा राष्ट्रपति भण्डारीसँगै उपसभामुख गंगाप्रसाद यादव, भूमिसुधारमन्त्री रामकुमार सुब्बा, नेपाली कांग्रेसकी सांसद किरण यादव सहभागी थिए।

राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजा गरिसकेपछि महन्त रामतपेश्वर दास ‘वैष्णव’ ले जानकी मन्दिरको तस्बिरअंकित मायाको चिनो प्रदान गरी दोसल्ला ओढाएर अभिनन्दन गरेको नागरिक दैनिक पत्रिकामा खबर छ। मन्दिर व्यवस्थापकको स्वागतलगत्तै भण्डारीले जनकपुर क्षेत्रलाई मिथिला प्रदेश कायम गर्न माग उठेकोमा आफू खुसी भएको बताउँदै मिथिलाको संस्कृति विश्वमै उदाहरणीय र महान रहेको बताइन्।

दुई मिनेटको सानो मन्तव्यपछि उनी पुनः जानकी मन्दिरबाट गाडी चढेर अञ्चल प्रहरी कार्यालय पुगिन् र हेलिकप्टरमा राजधानी फर्किइन् । उनी जानकी मन्दिरबाट अञ्चल प्रहरी कार्यालयतर्फ जाँदै गर्दा समूह–समूहमा भेला भएका आन्दोलनकारीले कालो झन्डा देखाउँदै विरोधमा चर्को नाराबाजी गरेका थिए।

हेलिकोप्टरबाटै राष्ट्रपतिसहितको टोलीले जानकी मन्दिर क्षेत्र परिक्रमा गरेपछि आन्दोलनकारी थप आक्रोसित हुँदै प्रहरीलाई ताकेर ढुंगामुढा सुरु गरे।





Comments

comments

Leave a Reply

10075