सुत्केरी महिलालाई सरकारले हजार रुपैयाँ भत्ता दिँदै आएको छ। तर अब यो भत्ता उनीहरूमा मात्रै सीमित रहने छैन। पशु सेवा कार्यालय मकवानपुरले गाई–भैंसीलाई समेत त्यति नै सुत्केरी भत्ता दिने भएको छ।

यो आर्थिक वर्षमा पहिलोपल्ट १ सय २५ वटा गाई–भैंसीले यस्तो सुविधा पाउने खबर आजको कान्तिपुर दैनिकमा छ।
सुत्केरी पशुको स्याहारमा किसानलाई प्रेरित गर्नका लागि भत्ताको व्यवस्था मिलाइएको पशु सेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधानले बताए। उनका अनुसार चालू आर्थिक वर्षको दोस्रो चौमासिकदेखि भत्ता वितरण गर्ने तयारी छ। दोस्रो चौमासिकमा ५० र तेस्रोमा ७५ वटा सुत्केरी चौपायाका धनीले रकम पाउने छन्।
सुरुमा दुग्ध उत्पादक सहकारी संघले छनोट गरेका दुईवटा संस्थामा आबद्ध कृषकका सुत्केरी चौपायालाई भत्ता वितरण गरिने कार्यालयले जनाएको छ। प्रधानका अनुसार उक्त रकम गाई–भैंसीलाई पौष्टिक आहारा खुवाउन प्रयोग गर्नुपर्ने छ।


