काठमाडौँ । साँझ बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेपछि किसान मर्कामा पर्न थालेका हुन्।
शङ्खेकिरा बढ्दा त्यसले किसानले लगाएको तरकारी र अन्नबालीमा ठुलो नोक्सानी पुर्याउँदै आएको छ । विज्ञहरूका अनुसार जुनकिरीको लार्भा अवस्थामा त्यसले शङ्खेकिरालाई खाने गर्दछ । लार्भा भनेको किराको असाध्यै बढी खाने अवस्था हो ।
प्राकृतिक आवासको नाश, कीटनाशक विषादीको बढ्दो प्रयोग र कृत्रिम प्रकाशले जुनकिरीको सङ्ख्यालाई कम गराउँदै छ । प्राकृतिक आवास नासिनु जुनकिरीको सङ्ख्यामा कमी आउने प्रमुख कारण हो । सिमसार र ओसिलो तथा झारपात भएको क्षेत्र जुनकिरीको प्राकृतिक बासस्थान हो । बढ्दो सहरीकरण, साँझ बिहानको धेरै प्रकाश, वन तथा बुट्यान क्षेत्र विनाश जस्ता कारणले जुनकिरी लोप हुँदै जान थालेको हो ।
कृषि अनुसन्धान परिषद् ९नार्क० का वरिष्ठ कीट विशेषज्ञ आरपी मैनाली जुनकिरीको पिलपिले बत्तीको उज्यालो मात्र नभई त्योभन्दा धेरै कृषिमा उपयोगिता रहेको बताउछन् । जुनकिरीको सङ्ख्या घटेसँगै किसानको बालीमा शङ्खेकिराको प्रकोप बढेको उनले दाबी गरे ।
जुनकिरीको लार्भा अवस्थामा शङ्खेकिरा मुख्य आहार हुने भएको र जुनकिरीको सङ्ख्या घट्दा शङ्खेकिराको सङ्ख्या बढिरहेको उनले उल्लेख गरे । यो भनेको जङ्गलमा बाघको सङ्ख्या घट्दा मृग र खरायोको सङ्ख्या बढे जस्तै हो । जुनकिरीको सङ्ख्या घट्दा खेतबारीमा शङ्खेकिरा बढेको उनले स्पष्ट पारे । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।