जे.सागर / एचकेनेपाल डट कम –
हाम्रो समाजमा केही भनाइहरु प्रचलनमा छन् – तन सुन्दर भएका मान्छेहरुको मन सुन्दर हुँदैनन् या धन हुनेको मन हुन्न, मन हुनेको धन हुन्न। यी कथनीहरु किन र कसका लागि बने र यसमा कति सत्यता छ त्यसलाई अलग्गै पाटोबाट खोजी गरौंला तर कहिलेकाहीँ यस्ता कथनीहरुलाई पनि झुट सावित गराइदिने पात्रहरु पनि हाम्रै समाजमा निस्कन्छन्। जसको तन सँगै मनपनि उस्तै सुन्दर हुन्छ, ‘खान पुगोस् दिन पुगोस्’ भन्ने पवित्र भाव पनि त्यो मनमा हुन्छ।यहि सुन्दर तन र उस्तै विशाल मनको बेजोड संगम भएकी एक पात्र हुन् नायिका खुश्बू खड्का।
विगत आठ वर्षदेखि नेपाली सिने जगतमा आफ्नो उपस्थिति जनाइरहेकी नायिका खुश्बूले यस अवधिमा झन्डै एक दर्जन चलचित्रमा प्रमुख भूमिका निभाइसकेकी छिन् जसमा केही चलचित्र प्रदर्शनमा आइसके भने केही आउने क्रममा छन्। त्यसो त यसै बिचमा उनले चार दर्जनको हाराहारीमा म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छन्। तर उनको परिचय सिनेमाको पर्दामा नक्कल झक्कल पार्दै नायकसँग ‘प्यार भरा ‘ संवाद र दृश्य दिने एउटा नायिका मात्र भनेर दिइयो भने उनीमाथि अन्याय हुनेछ। जसरी ‘रिल लाइफ’मा नायिकालाई एउटा आदर्श पात्रको रुपमा प्रस्तुत गरिएको हुन्छ नायिका खड्काको रियल लाइफ पनि उस्तै आदर्श छ। त्यसैले उनी रिल लाइफ मात्र नभएर रियल लाइफको पनि हिरोईन हुन् भन्नमा अनकनाउन पर्दैन।
किन त ? उनले उस्तै स्तुत्य जवाफ दिइन् म त कमसेकम सुगम ठाउँमा छु, फेरि म दुइ बोरा चामल किन्नै नसक्ने अवस्थाको पनि थिइन, त्यतिबेला सहयोगको जरुरत मलाई भन्दा पनि ती दुर्गम बस्तीमा रहेका निम्न वर्गका मानिसहरुलाई थियो जहाँ एक पोका चाउचाउ दिएर पीडितसँग सेल्फी खिच्दै फेसबुक टुइटरमा टास्ने प्रचारवादी समाजसेवी त के सरकारको पनि नजर परेको थिएन। त्यस क्रममा उनले भूकम्पग्रस्त जिल्ला सिन्धुपाल्चोक ,रसुवा,दोलखा ,रामेछापका विकट गाउँमा पुगेर आफ्नै निजि खर्चमा सक्दो सहयोग गरिन् प्रचारवाजीको कुनै मोह नराखेरै। अहिले पनि एउटा कोरियाली संस्थाको सहयोगमा सिन्धुपाल्चोकको साँगाचोकमा स्कुल निर्माण गर्ने क्रममा उनैले अग्रसरता देखाएकी छन्।
‘बाहिर जतिसुकै ठूलो कुरा गरेपनि नेपाली चलचित्र क्षेत्रको मात्र भर परेर भोलिको भविष्य त परै जाओस् आजको रोजिरोटी पनि राम्रोसँग चल्छ चल्दैन त्यसको कुनै ग्यारेन्टी हुन्न, त्यसैले आफ्नै व्यबसाय पनि गर्छु।’ उनले नेपाली सिने जगतको यथार्थलाई इमानदार भएर बताइन्। यसबाहेक उनी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनमा पनि आवद्ध छन्। मेसो मिलाएर बिदेशमा हुने कार्यक्रम र सुटिङहरु पनि भ्याइरहेकै छन्। यति धेरै जिम्मेवारी ,यति धेरै व्यस्तता कसरी धान्नुहुन्छ? उनी भन्छिन – म कुरामा मात्र हैन काममा पनि उदाहरणिय भएर देखाउन चाहन्छु, मसँग सकारात्मक सोच छ समय र परिस्थिति अनुसार आफूलाई समायोजन गराउन सक्ने खुबी छ, मलाई आफ्नो बाटो आफैं तय गर्नुछ यसको लागि अरु भन्दा अलि दु:ख त गर्नैपर्छ नि हैन र ? उनले प्रतिप्रश्न गरिन्!
म उनको शारीरिक भन्दा आन्तरिक व्यक्तित्वबाट प्रभावित भएर यत्ति भनें -यहाँले सोच्नुभएका हरेक सुकर्महरु सफल होस्। पर्दामा मात्र नभएर वास्तविक जीवनको पनि हिरोईन बन्न सक्नुहोस र देख्दा भेट्दा गर्वले भन्न पाइयोस् उ हाम्री वास्तविक हिरोईन खुश्बू खड्का!! शुभकामना आगे यात्राको!