पाल्पा, करोडपति बन्ने सपनामा ‘कमोडोटिज विजनेस’ मा अवैध लगानी गर्ने व्यक्ति अहिले फसेका छन्। तानसेन शीतलपाटीस्थित शाक्यमुनि कमोडोटिजकी सञ्चालिका कल्पना घिमिरेले अवैध लगानीकर्तालाई साँवाब्याज दिन नसकेपछि लगानीकर्ताले आफूहरू फसेको गुनासो गर्दै आएका हुन्।
शाक्यमुनि कमोडोटिजको नाममा सुनचाँदीको खरिद बिक्री गर्ने नेटवर्किङ व्यवसायमा अवैध लगानी हुँदै आएको हो। यस व्यवसायमा पाल्पाका सयौँ व्यक्तिले करोडौँ अवैध कारोबार गर्दै आएको तथ्य खुलेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा घटबढ हुँदा नाफा कमाउने लोभमा पाँच लाखदेखि दुई करोडसम्म लगानी गरेको पीडितले बताएका छन्।
शाक्यमुनि कमोडिटिजका सञ्चालिका घिमिरेले भने स्थानीय व्यक्तिसँग ऋण लिएर सुनचाँदी कारोबारमा नभई घरघडेरी खरिद बिक्री व्यवसायमा लगानी गरेको बताए। अवैधरुपमा ब्याजको कारोबार सञ्चालन गरेर तानसेनका प्रतिष्ठित व्यापारी, वकिल, व्यवसायीले ठगिएको गुनासो गरेको प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमिल्सिनाले बताए।
विगत पाँच वर्षदेखि अत्याधिक ब्याज पाउँदै आएका लगानीकर्ताले गत महिनाको पुस मसान्तदेखि पैसा नपाएपछि सञ्चालिका घिमिरेको तानसेनस्थित कैलाशनगरको घर घेराउ गर्दै आएका थिए।
घर घेराउ गर्दै रकम फिर्ता गर्न दबाब दिएपछि घिमिरेले असुरक्षाको कारण आफू प्रहरी कार्यालयमा आएको जानकारी दिए। घिमिरेले आफ्नो २५ करोडसम्मको कारोबार रहेको बताउँदै बाहिर हल्ला भए जति कारोबार आफ्नो नभएको उल्लेख गरे। रासस
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)