सकारात्मक सोचका साथ एकजुट भएर लागौँ, देश बन्छः नेतृ कोइराला

काठमाडौँ । चुनावमा कुनै दल विशेषको स्पष्ट बहुमत नआउँदा राजनीति र सरकारले स्थायित्व पाउन सक्दैन भन्ने देखिइसक्यो । सबैलाई थाहा भएकै विषय हो, एउटा दलको बहुमत नभएपछि सरकार फेरिइरहने घटना भइरहन्छन् । यसलाई सहजरूपले हेर्नुपर्छ । वर्तमान सरकार सुरुमा नेकपा एमाले गायतको सहयोगमा बन्यो त्यसपछि फेरि कांग्रेसको समर्थन भयो । अहिले फेरि एमालेको समर्थन प्राप्त छ।

पहिलोपटक सदनमा प्रवेश गरेकाले सोचेको भन्दा भिन्न महसुस भइरहेको छ । विधायकको मुख्य जिम्मेवारी र भूमिका कानुन निर्माण भए पनि जनताका आवश्यकता सम्बोधन तथा देशको समृद्धिका विषयमा पनि सोच्ने र ध्यान पुर्याउनपर्ने दायित्व हामीमा छ । मेरो बुझाइमा राज्य र जनताका लागि केही गर्छु भन्नेहरुका लागि संसद् महत्त्वपूर्ण ठाउँ रहेछ । त्यसैले यति महत्त्वपूर्ण ठाउँलाई जनताको पक्षमा भरपुर सदुपयोग गर्नुपर्छ भन्नेमा म दृढ छु । तर संविधानप्रदत्त सेवासुविधा जनतालाई सहज र सुलभरूपमा उपलब्ध गराउनुपर्नेमा त्यसमा कमीकमजोरी भयो भन्ने लाग्छ । कानुन निर्माणलाई हामीले तीव्रता दिन सक्नुपर्छ । सुरुआती दिनमा राजनीतिक तालमेल, सरकार र समिति गठनमै धेरै समय खर्चनु परेकाले कानुन निर्माणमा आशातित प्रगति हुन सकेन।

सांसद कोइरालाको परिचय
अखिल नेपाल महिला सङ्घ सिन्धुली जिल्ला सदस्यबाट राजनीतिमा प्रवेश गरेकी सांसद निर्मला कोइराला पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका–१५ को स्थायी बासिन्दा हुन् । नेकपा एमाले वीरगञ्ज–१५ वडा कमिटी सचिव, नगर कमिटी, जिल्ला कमिटी, राष्ट्रिय परिषद्, आमन्त्रित केन्द्रीय समिति सदस्यको जिम्मेवारी सम्हालेकी नेत्री कोइराला करिब साढे तीन दशकदेखि नेकपा एमालेको सक्रिय राजनीतिमा सहभागी हुनुहुन्छ । मुलुकमा राजनीतिक परिवर्तन र लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा उनी केही समय थुनामा समेत रहिन् ।
कुराकानीमा आधारित





Comments

comments

109839