सहारा क्लवको संयोजनमा गोरखामा अत्याधुनिक विद्यालय

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
सहारा क्लव पोखराको संयोजन तथा सहारा युके र अल्टरसट एफसी युकेको आर्थिक सहयोगमा गोरखाको घैरुङस्थित ज्यामिरश्वाँरामा अत्याधुनिक विद्यालय भवन निर्माणाधीन अवस्थामा छ।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

क्लबले अत्याधुनिक प्रविधिको भूकम्प प्रतिरोधात्मक पाँच कोठे पक्की भवन निर्माण गर्न लागेको हो। करिब २५ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको सहारा युकेका अध्यक्ष दिलिप गुरुङले जानकारी दिए। उनका अनुसार विद्यालयमा आधुनिक किसीमका फर्निचर उपलब्ध गराईने छ भने विद्यालयभित्रै पार्क समेत निर्माण गरिनेछ।

मंगलबार निर्माणाधीन विद्यालयको निरीक्षण गर्दै अध्यक्ष गुरुङले यसलाई नमूना विद्यालयको रुपमा स्थापित गर्ने बताए। भूकम्पपछि विद्यालय निर्माण गर्ने हाम्रो अठोट थियो, तर कहाँ गर्ने भन्ने अलमल्लमा थियौं, साथीहरुको सहकार्यले बास्तविक पीडित क्षेत्रमा काम गर्न पायौं, उनले भने–यसमा हामी खुशी छौं, आगामी दिनमा पनि आवश्यक सहयोग जुटाउँदै नमूना विद्यालयको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ । सहारा युकेका अध्यक्ष गुरुङसँगै, सल्लाहकार चन्द्र गुरुङ, सहारा क्लव पोखराका अध्यक्ष वीरभद्र आचार्य, कोषाध्यक्ष विश्वराज बराल, सदस्य धर्मेन्द्र बराल, पत्रकार प्रकाश ढकाल लगाएतको टोलीले निर्माणाधीन विद्यालय भवनको निरीक्षण गर्दै चाँडै भवनले पूर्णता पाउने बताए।

सहारा क्लव पोखराका अध्यक्ष आचार्यले निर्माणको काम द्रुत गतिमा अगाडि बढेको र निकै राम्रो काम भएको बताए। उनले गुणस्तरीय र अत्याधुनिक बिद्यालय निर्माणका लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरे । स्थानीयको जोश र सहयोगप्रति प्रशंसा गर्दै आचार्य भन्छन्–सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुभएको छ, त्यसैले दीर्घकालीन र गुणस्तरीय विद्यालय निर्माण हुनेमा कुनै शंका छैन। भूकम्पबाट पुर्णरुपमा क्षतिग्रस्त बिद्यालयको भवन पुनःनिर्माण गर्नुपर्ने भएकाले सहारा क्लवले आफ्ना मातहतमा रहेका संघ संस्थासँग समन्वय गरेर रकम संकलन गरेको हो।

विद्यालय भवन भत्किएपछि यहाँका विद्यार्थीहरु अहिले जस्तापाताको अस्थायी टहरमुनि बसेर पढिरहेका छन्। भूकम्पपीडित बिद्यार्थीलाई सहज रुपमा पढ्ने वातावरण सिर्जना गर्नका लागि भवन निर्माण गरिएको क्लवले जनाएको छ। भवन निर्माणको काम करिब ८० प्रतिशत सकिएको निर्माणमा संलग्न प्राविधिक याम थापाले जानकारी दिए। गारोको अधिकांश काम सकियो, ट्रष्ट पनि सकिने अवस्थामा छ, उनले भने–सहजै काम भए २० दिनभित्रै सबै काम सकिन्छ । भवन निर्माण भएपछि स्थानीयहरु निकै खुशी भएका छन्।

भवन निर्माणमा अपनत्व कायम गर्नका लागि अत्याधिक जनश्रमदान जुटाईएको विद्यालयका प्रधानध्यापक गुन बहादुर थापाले जानकारी दिए। सहारा क्लवले सहयोगी हातहरुसँग समन्वय गरेर विभिन्न सामाजिक काम गर्दै आईरहेको छ । क्लवले एकेडेमी नै स्थापना गरी कठिन परिस्थीतिका बालकहरुलाई आश्रय र शिक्षा दिक्षाको ब्यवस्था मिलाएको छ । क्लवले सञ्चालन गरेको एकेडेमीमा हाल १६ जिल्लाका २६ बालबालिकाहरु आश्रित छन्।

थप तस्वीरहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

11403