गोरखा आन्दोलनमा भान्जा-भान्जीहरुको दायित्व

– सन्तोष थलङ

वीर गोरखाका दोश्रो पुस्तालाई अब आफ्नो बाबुबाजेमाथि दशौं पुस्तादेखि बेलायती साम्राज्यद्वारा गरिएको अपमानजनक, असमानता र अमानवीय विभेदविरुद्ध निर्णायक आन्दोलनलाई गन्तब्यमा पुर्याउने गहन जिम्मेवारी आएको छ।

करिब साढे तीन दशकदेखि आरम्भ गरेको सशक्त आन्दोलनले आंशिक उपलब्धिहरुमात्र प्राप्त गरेको छ। त्यसमध्ये एक महत्वपूर्ण उपलब्धि भनेको गोरखाका छोरा-छोरी (दोस्रो पुस्ता) लाई ठूलो संख्यामा यहि बेलायती भूमिमा ल्याएर यसै देशको शैक्षिक प्रणाली अन्तर्गतका बिभिन्न बिषयमा बिज्ञता हासिल गराउन सफल हुनु हो।

सन्तोष थलङ

अब यिनै शिक्षित गोरखा सन्तति (भान्जा भान्जी)हरुले यहि देशमा आर्जित बिज्ञता र क्षमतालाई सदुपयोग गर्दै आफ्ना पिता पुर्खामाथि २०९ बर्षदेखि हुदै आएको अमानवीय बिभेद,अन्याय अत्याचारको एका-एक हिसाब चुक्ता गर्नुपर्दछ। यहि सिलसिलामा तत्काललाई गोरखा सत्याग्रहद्वारा संचालित निर्णायक आन्दोलनलाई सशक्त ढंगले अघि बढाउन, आर्थिक, नैतिक एवं भौतिक रुपमा योगदान गर्नु गोरखा सन्ततिको नाताले सम्पूर्ण बेलायतवासी भान्जा भान्जीहरुको कर्तब्य हुन आउंदछ। यो ऐतिहासिक एवं निर्णायक आन्दोलनका लागि स्वैच्छिक रुपमा यथासक्दो आर्थिक सहयोग गरेर आफ्नो सहभागिता उल्लेख गराउनु भान्जाभान्जीका लागि एक ऐतिहासिक अवसर पनि हो ।

पीडित गोरखाहरु अर्थात् बाबु पुस्ताहरु नेपालमै पनि राम्रो शिक्षा दिक्षा लिनबाट बञ्चित भएका र जीबनको उर्जाशील अवस्थामा बेलायती सैन्य कानूनले बन्दी सरहको जीवन जिएकाहरुमा गोर्खा आन्दोलनलाई सहि ढंगले हांक्ने बिचार, बौद्धिकता र भाषिक क्षमताको अवश्य अभाव भएकै हो । यद्यपि, दृढ संकल्पका कारण केही बिज्ञहरु हार- गुहार गरेर भएपनि आन्दोलनलाई यहाँसम्म ल्याउनु एक अकल्पनीय एवं ऐतिहासिक उपलब्धि नै मान्नुपर्दछ।

ज्ञानराज राई जस्ता सहासी गोरखा को २/२ पल्ट र धन गुरुङ र पुष्पा राणा घलेको १ पल्टको करिब ३ साता लामो आमरण अनसन साथै दर्जनौ गोरखा दाजुभाइ, दिदीबहिनीहरुको रिले अनसन अनि कृष्णबहादुर राई, मेजर जुद् बहादुर गुरुङलगायतका गोरखा अभियन्ताहरुका त्याग र समर्पणले आज तपाईँ हामी यहाँ र यो अवस्थामा आइपुगेका छौं।

त्यसैले, बेलायतमा रहेका भान्जाभान्जीहरुले यो आन्दोलनलाई निष्कर्षमा पुर्याउन स्वतस्फूर्तरुपमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियानलाई आर्थिक, नैतिक एवं भौतिक रुपमा सहयोग गरी यो निर्णायक आन्दोलन सफल पार्नै पर्दछ।

यो आन्दोलन सफल गर्नु भनेको बेलायतमा गोरखा समुदायको हैसियत कायम गरि बेलायतमा रहने भावी गोरखा सन्ततिहरुलाई कानूनी एवं सामाजिक रुपमा अधिकार सम्पन्न बनाई सम्मानित जीवन यापन गर्न पाउने वातावरण बनाउनु साथै बेलायत आउन संघर्षरत नेपालका पीडित भान्जाभान्जीहरुलाई सहज ढंगले आउन पाउने व्यवस्था सुनिश्चित गर्नका लागि पनि हो।

त्यसैगरी “नेपाली नागरिकता निरन्तरताको” अभियान भनेको भावी ब्रिटिश गोरखा सन्ततिहरुका नेपाली राष्ट्रियता र पहिचान बचाउने गम्भीर बिषय भएकाले यि दुबै मुद्दामा बिशेष गरी बेलायतमा रहेका ब्रिटिश गोरखाका दोश्रो पुस्ताका भान्जाभान्जीहरुको सशक्त भूमिका हुन अत्यावश्यक छ।

जय गोरखा !!!
(१२ मे २०२४)





Comments

comments

116355