अस्ट्रेलियाको मेलबर्नमा ७१ औ अन्तर्राष्ट्रिय सगरमाथा महोत्सव सम्पन्न

प्रभा श्रेष्ठ –
एस्कटभेल, मेलबर्न: धौलागिरी एडभन्चेरको पहल र हिमालय आउटरिच अन्तर्राष्ट्रिय अस्ट्रेलियाको सहकार्यमा सगरमाथामा पहिलो मानव पाइला टेकेको सम्झनालाई सन्देश दिन र नेपालको पर्यटन प्रबर्द्धन गर्ने ध्येयका साथ आयोजित ७१ औ अन्तर्राष्ट्रिय सगरमाथा महोत्सव अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको छ।

महोत्सबका प्रमुख अतिथि अस्ट्रेलियाका संघिय सांसद पिटर खालिलले नेपालसंग अस्ट्रेलियाको कुटनीतिक सम्बन्धको चर्चा गर्दै आफूले नेपाल भ्रमण गरेको संस्मरण गरे । नेपालबाट अस्ट्रेलिया आएका नेपालीको अवस्था र महत्वमाथि प्रकाश पारेका सांसद खालिलले सगरमाथा दिवसको महत्वमाथि जोड दिंदै आगामी दिनमा पुन: नेपाल भ्रमण गर्ने अभिरुचि जाहेर गरे।

मेरिबेक नगरका उपमेयर ल्याम्बरस तापनिजले नेपालीहरु आफ्ना नगरभित्र उल्लेख्य संख्यामा बसोबास गरिराखेका कारण नेपालीको संस्कृतिप्रति अगाध माया र सदभाव रहेको बताउँदै निकट भबिष्यमा नेपालको नगरपालिकासंग भगिनी शहरसमेत बनाउने तयारी रहेको बताए।

बैज्ञानिक अनुसन्धानका लागि जिम्मेवार अस्ट्रेलियन सरकारी निकाय The Commonwealth Scientific and Industrial Research Organization (CSIRO) का बरिष्ठ बैज्ञानिक डा राजु अधिकारी र लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एबं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विश्व सल्लाहकार रामकुमार श्रेष्ठद्वारा संयुक्त रुपमा तयार पारिएको प्रस्तुतिमा डा अधिकारीले सगरमाथा आरोहणका ७० बर्षका ऐतिहासिक परिघटना र ब्यक्तिहरुको फेहरिस्त पेश गर्दै सगरमाथाका कारण नेपाल, वरिपरिका देश र विश्वले नै सामना गरिराखेको र गर्न पर्ने जलवायु समस्या र समाधानका उपायका बारेमा चर्चा गरे।

कार्यक्रम आयोजक सदस्य जिम लिमार्डले नेपाल भ्रमणमा देखिएका आकर्षक स्थानबारे चर्चा गरे। लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एबं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विश्व सल्लाहकार रामकुमार श्रेष्ठ, एनआरएन आइसिसी पूर्व उपाध्यक्ष दुर्गा आचार्य, एएनएमसिका अध्यक्ष गान्धी भट्टराई, जन संपर्क समिति अस्ट्रेलियाका अध्यक्ष बिनित शर्मा, एनआरएन भिक्टोरियाका संयोजक मणिरत्न सापकोटा, एनआरएन अस्ट्रेलियाका पूर्ब अध्यक्ष केशब कंडेललगायतका ब्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा धौलागिरी एडभेन्चरका निर्देशक डिएन घिसिङ, फेन्काका अध्यक्ष बम योन्जनद्वारा मन्तव्य व्यक्त गरिएको थियो र कार्यक्रमको समापन हिमालय आउटरिच ईन्टरनेशनलकी अध्यक्ष उर्मिला लामाले सहभागी सबैलाई धन्यवाद ज्ञापनपछि भएको थियो।

नेपाली ढाका टोपीमा सजिएका बिदेशीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सन्चालन डोमा लामाद्वारा गरिएको थियो र नेपाल प्रबर्द्धनसम्बन्धी डकुमेन्ट्री, फोटो प्रदर्शनी एबं सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको सो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने दाताहरुलाई सभापति थोमस केप्लरद्वारा प्रशंसापत्र हस्तान्तरण गरिएको थियो।





Comments

comments

117940