एएनएमएफको २८ औ साधारणसभा सम्पन्न , लगभग २ करोड २८ लाख संकलन, अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

बिजय थापा । अमेरिकाको इलोनोइ राज्यको बिश्व चर्चित शहर शिकागोमा जुन ७-९ सम्म आयोजना भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसन(एएनएमएफ)को २८ औ साधारण सभा सम्पन भएको छ।

गत जुन ७ बिहानदेखि खेलकुद तथा भेटघाटसहित प्रारम्भ भएको २८औ बार्षिक साधारणको औपचारिक उदघाटन जुन ८ शनिबारका दिन बिहान गरियो । जुन ९ आइतबारका दिन नयाँ कार्यकारी समितिको बैठकको आयोजना गर्दै यस बर्षको साधारण सभा सम्पन्न भएको छ ।

स्थापना कालदेखि नै एएनएमएफको मुख्य उद्धेश्य मातृभूमिको लागि आर्थिक सहयोग गर्ने रहेकोले यस पटक पनि गत जुन ८ शनिबारका दिन औपचारिक कार्यक्रमको सुरुवात संगै साँझमा कोष वृद्धि अर्थात् गाला (नाइट )रात्रीको कार्यक्रम भव्यताको साथ सम्पन भएको छ । कोष वृद्धि रात्रीको कार्यक्रममा लगभग १ लाख ७१ हजार डलर अर्थात् २ करोड २८ लाख नेपाली रुपैया संकलन भएको छ।

कोष वृद्धि अर्थात् गाला (नाइट )रात्रीको कार्यक्रम लगत्तै मंगोलियन हर्टका प्रख्यात गायक राजुलामाले बेजोड प्रस्तुति गर्दा चिकित्सकहरुले भरपूर मनोरंजन लिदै हरेक गीतमा झुमेका थिए । चिकित्सकहरुले गीतको लागि फर्माइस समेत गरेका थिए । राजुलामाले कम्तीमा आफ्ना कालजयी १ दर्जन गीतहरु प्रस्तुत गरेका थिए ।

चिकित्सकहरुले राजुलामाको आफ्नै सामाजिक संस्थालाई समेत प्रस्तुति गर्दा सहयोग गरेका थिए । गीत गाउदै गर्दा बीच बीचमा उनलाई प्रदान गरिने रकमको घोषणा गरिएको थियो । राजुलालाले प्रस्तुति गर्दै गर्दा उनका दुई जना बिद्यालय अध्ययन गर्दाका साथीहरु समेत अमेरिकामा चिकित्सक पेशामा रहेको बताए र उनीहरुको परिचय गराएका थिए ।

शनिबार आयोजना गरिएको औपचारिक कार्यक्रमको उदघाटन मार्भिन ए ब्रस्टिन तथा एएनएमएफका पूर्व अध्यक्ष जनक कोइरालले गरेका थिए। औपचारिक कार्यक्रममा सभाका सभापति विकाश भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष बिनोद खडकाले धन्यवाद ज्ञापन राखेका थिए।

यसैगरि स्वीकृति वास्कोटाले नेपालका राष्ट्रपतिको शुभकामना सन्देश पढेर सुनाएकी थिईन । एएनएफएका सचिव नारायण न्यौपाने तथा कोषाध्यक्ष कल्पना श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समुदघाटन लगतैपछि विष्णु सापकोटाले प्रश्न उत्तरको सत्र प्रारम्भ गरेका थिए भने एएनएमएफ नेपालकी अघ्यक्ष सॅगीता बस्नेतले एएनएफएममा कसरी प्रवेश गर्न सकिन्छ र यस्को लागि के के योग्यता चाहिन्छ लगायतमा चर्चा गरिन ।

त्यस्तै सन्तोष सापकोटाको नेतृत्वमा रहेको समिती सदस्यहरुले परियोजनाको बारेमा गतिबिधी तथा प्रगति बारेमा जानकारी दिएका थिए । यसैगरि एएनएमएका अध्यक्ष राजेश पोखरेलले केही आफ्ना कुराहरु राखेका थिए । दामोदर पौडेल तथा प्रिती अधिकारीले आफ्नो परियोजना बारेमा चर्चा गरेका थिए।

कर्णाली एकाडेमी अफ हेल्थ साइन्सका उपकुलपति डा मंगल रावलले आफ्नो सॅस्थाको बारेमा विस्तृत जानकारी गराएका थिए । प्रमुख वक्ता कुल चन्द्र गौतमले केही महत्वपूर्ण कुराहरु राख्दै एएनएफएमलाई मौका दिेएकोमा धन्यवाद दिएका थिए ।

उदघाटनपछि गोलमेच छलफल कार्यक्रमको आयोजना गरिएको थियो । त्यस्का लागि नेपालबाट स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव डा रोषन पोखरेल, नेपाल मेडिकल काउन्सिल का अध्यक्ष डा छोप लाल भुसाल, नेपाल चिकित्सक संघका अध्यक्ष अनिल बिक्रम कार्की, नेसनल एकाडेमी अफ हेल्थ साइन्सका उपकुलपति भुपेन्द्र कु वस्नेत , एनएचआरसिका सदस्य सचिव डा प्रमोद जोशी तथा अमेरिका नेपाल मेडिकल फाउन्डेसन नेपालकी अध्यक्ष प्रा डा सॅगीता वस्नेत कोइरालाहरु छलफलका वक्ताहरु रहेका थिए ।

कार्यक्रम संचालन एएनएमएफका अध्यक्ष विनोद खडका तथा पूर्व अध्यक्ष भुपेश खडकाले सॅयुक्त रुपमा गरेका थिए । प्रथम चरण पश्च्यात दोश्रो चरणमा थुप्रै बैज्ञानिक सत्र( साईनटिफिक सेसन) को आयोजना गरिएको थियो । उक्त कार्यक्रममा कर्णाली एकाडेमी अफ हेल्थ साइन्सका उपकुलपति डा मंगल रावलले समेत प्रस्तुति गरेका थिए । यस्तै बिश्वमै सबै भन्दा पहिले कोभिड-१९ को खोप लिने सामाजिक संजालका चर्चित चिकित्सक रामु खरेलले समेतले नेपालमा उनको परियोजनाको प्रस्तुति गरेका थिए । उक्त कार्यक्रममा अन्य कृतिम बुद्धिमत्ता बिषय लगायत बिभिन्न प्रवक्ताहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

बैज्ञानिक सत्र समापन हुनासाथ गाला रात्रिको शुभारम्भ गर्दै राजु लामाले प्रस्तुति दिएका थिए । गाला नाइट सुरु हुन् अघि एएनएमएफको २०२४ -२०२५ को लागि नयाँ निर्वाचित समितिमा अध्यक्ष पदमा विष्णु सापकोटा, उपाध्यक्षमा नारायण न्यौपाने, सचिवमा नविन कैनी,सह-सचिव विकाश भट्टराई ,कोषाध्यक्षमा कल्पना श्रेष्ठ तथा निवर्तमान अध्यक्षमा विनोद खडका निर्वाचित भएको समेत घोषणा गरिएको थियो ।

निवर्तमान अध्यक्ष बिनोद खड्काले सम्मेलनमा उपस्थित सबैलाई बिशेष धन्यबाद दिएका छन् भने नव निर्वाचित अध्यक्ष बिष्णु सापकोटाले यस्तै निरन्तर साथ र सहयोगको अपेक्षा सहित अर्को सालको २९ औ साधारण सभामा भेट्ने बाचा गरे।





Comments

comments

118826