भेनिसा लिम्बुको हत्याको प्रमुख कारण यस्तो थियो

काठमाडौं, ३० चैत । मदिरा सेवनकै कारण हिंसात्मक घटना वृद्धि भएको प्रहरीले जनाएको छ । राजधानीमा भएका पछिल्ला ९० प्रतिशत घटनामा मदिरा प्रमुख कारण देखिएको छ।

भदौयता राजधानीमा भएका दर्जन हत्यामध्ये एकबाहेक अन्य सबै घटना हुनुको प्रमुख कारण मदिरा नै देखिएको महानगरीय अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले बताए।

हत्या मात्र नभई अन्य झैझगडा तथा घरेलु हिंसाको प्रमुख कारण पनि मदिरा नै हुने गरेको छ । प्रहरीमा पुग्ने घरेलु हिंसाका धेरै घटनामा श्रीमानले मदिरा पिएर श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पर्ने गरेको छ।

सुनसरीका विनोद उराँव तथा सर्लाहीका साजी तामाङ र विक्रम वाइबाबीच कुनै साइनो थिएन । गत ८ चैतमा बुढानीलकण्ठको एउटै भट्टीमा मदिराले उनीहरूको साइनो जोड्यो, तर त्यही साइनोले उराँवको ज्यान गएको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

भट्टीबाट निस्कँदा उनीहरूको आँखा जुध्यो, त्यही विषयलाई लिएर विवाद सुरु भयो । बाटोमा आधा किलोमिटरसम्म उनीहरू मदिराको नशामा त्यत्तिकै झगडा गर्दै निस्किए।

विष्णुखोला किनारछेउमा आइपुग्दा एकले अर्कालाई मनपरी गाली गरे। झगडा चर्कियो, मदिराको नशा र रिसमा तामाङ र वाइबाले ढुंगा टिपेर उराँवमाथि हाने। उराँवको घटनास्थलमै मृत्यु भयो।

भोलिपल्ट स्थानीयले खबर गरेपछि प्रहरीले शवको मुचुल्का गरी अनुसन्धान अघि बढायो । लुटपाट वा रिसइबीका कारण कसैले उनको हत्या गरेको हुनसक्ने प्रहरी अनुमान थियो।

गत २५ चैतमा वाइबा र तामाङ फक्राउ परे । अनुसन्धान गर्दा घटनाको मुख्य कारण लुटपाट वा रिसइबी नभई मदिरा भएको खुल्यो । ‘मान्छे मार्न केही कारण नै चाहिँदो रहेनछ’, अनुसन्धानमा आबद्ध महानगरीय अपराध महाशाखाका डिएसपी रेग्मी भन्छन्, ‘मदिराको नशामा सामान्य विवाद हुँदा उराँवको हत्या भएको देखियो।’

केही दिनअघि मारिएकी भेनिसा लिम्बूको हत्या प्रकरणमा पनि मदिरा प्रमुख कारण देखिएको थियो । फेसबुकबाट चिनजान भएका साथीहरूसँग उनले ठमेलमा गएर मदिरा पिएकी थिइन्।

नशाको सुरमा उनी साथीकै अपार्टमेन्टमा पुगिन् । मदिराले मात्तिएका साथीले जबर्जस्ती यौनसम्बन्ध राख्न खोज्दा नमानेपछि उनलाई ६ तलाबाट फालिएको थियो।

२९ असोजमा टोखामा युवराज गुरुङको पनि मदिराकै कारण हत्या भएको थियो। साथी अम्बरप्रसाद खतिवडाले मदिराको नशामा उनको हत्या गरेका थिए।

एक हजार दुई सय रुपैयाँको विषयलाई लिएर खतिवडाले गुरुङको हत्या गरेका हुन्। तर, लामो समयसम्म प्रहरीलाई झुक्याउन खतिवडा सफल भएका थिए।

फेसबुकको साथीले धोका दिएपछि भेनिसाले ज्यान गुमाउनु परेको थियोः (अडियो रिपोर्ट)





Comments

comments

Leave a Reply

11969