राष्ट्रपति भण्डारी संबोधन गर्दागर्दै किन भक्कानिइन्?

काठमाडौं, स्वास्थ्य अनुसन्धान परिषद्को २५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दागर्दै सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी भक्कानिएकी छन्।

दुर्गम क्षेत्रका महिलाहरूले सुत्केरी हुँदा अकालमै ज्यान गुमाउनुपरेको प्रसंगसँगै राष्ट्रपति भण्डारी भक्कानिएकी हुन्। लिखित मन्तव्य राखेकी राष्ट्रपतिले मातृशिशु मृत्युदर क्रमश: घट्दै गए पनि दुर्गमका महिलाहरू प्रसववेदनमा नै मृत्यु हुँदा बचाउन नसिकिएको भन्दाभन्दै भक्काइन्। केहीबेर सम्हालिएर उनले आफ्नो लिखित मन्तव्य पूरा गरिन्।

‘सहस्राब्दी विकास लक्ष्यमा नेपालले राम्रो सफलता पाएको छ, यो सुखद कुरा हो,’ भक्कानिनुअघि उनी भन्दै थिइन्, ‘तर दुर्गम क्षेत्रका महिलाले न्युनतम चिकित्सकीय सेवा, उपकरण र औषधि अभावका कारण प्रसव अवस्थामा साल ननिस्किएर ज्यान गुमाउनु परिरहेको छ।’ नयाँ पत्रिका दैनिकमा खबर छ।

कार्यक्रमा देश–विदेशका सात सयभन्दा बढी स्वास्थ्य तथा जनसंख्याविज्ञ उपस्थित थिए। मन्तव्यको क्रममा उनले निजी क्षेत्रको प्रवेशपछि नेपालको स्वास्थ्य क्षेत्र व्यापारमुखी हुन थालेको भन्दै चिन्ता व्यक्त गरिन्। त्यसलाई व्यवस्थित गर्न सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो । त्यसैगरी, सरकारी अस्पतालमा जनमानसको विश्वास कम हुंदै गएकोतर्फ पनि राष्ट्रपतिको चिन्ता थियो।

‘सरकारले अस्पतालहरूमा करोडौँ लगानी गरेको छ, तर सरकारी स्वास्थ्य संस्थाप्रति जनताको विश्वसनीयता घट्दै गएको छ,’ राष्ट्रपतिले भनिन्, ‘यसतर्फ सरकारले विशेष कदम चाल्नुपर्छ ।’ राष्ट्रपतिले परिषद्को वार्षिकोत्सवसँगै दोस्रो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन पनि उद्घाटन गरिन्।





Comments

comments

Leave a Reply

11971